अमेरिकी राष्ट्रपति ट्रम्प इजरायलमा, हमासद्वारा बन्धक बनाइएका २० जना मुक्त

Getting your Trinity Audio player ready...
|
वासिङ्गटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार इजरायल पुगेका छन् । उनी इजरायलको बेन गुरियन विमानस्थलमा सोमबार अवतरण गरेका हुन् । इजरायलमा हाल हमासद्वारा बन्धक बनाइएकाहरूको रिहाइ प्रक्रिया जारी छ ।
ट्रम्पको आगमनको पूर्व सन्ध्यामा, एक ड्रोनले तेल अविभको समुद्री किनारमा ट्रम्पको स्यालुट र ‘थ्यांक यु’ लेखिएको दृश्य देखाएको थियो । उनको स्वागतमा जनताले पोस्टरहरू पनि उठाएका थिए ।
आई २४ न्यूज इजरायलका अनुसार २० जीवित बन्धकमध्ये पहिलो सात जनालाई रेड क्रसले उत्तरी गाजामा इजरायली सेनालाई सुपुर्द गरेका छन् । टाइम्स अफ इजरायलका अनुसार, बन्धकहरूको रिहाइको खबर सुन्दै होस्टेज स्क्वायरमा भिडले ठूलो खुशीयाली मनाएको थियो ।
रिहा भएका सात बन्धकमा गाली र जिभ बर्मन, मातान एंग्रेस्ट, अलोन ओहल, ओम्री मिरान, ईतान मोर र गाइ गिल्बोआ–डलल समावेश छन् । रिपोर्ट अनुसार उनीहरू छोटो मानसिक मूल्याङ्कनको लागि लैजाने तयारी छ ।
सोमबार बिहान, हामासले दुई वर्षको कैदपछि २० जीवित बन्धकको समूह रिहा गर्न तयारी गर्दा इजरायलभर जनताहरू सडक, सार्वजनिक स्क्वायर र सैनिक बेसहरूमा जम्मा भएका थिए । तेल अविभको होस्टेज स्क्वायर र गाजा सीमावर्ती दक्षिण इजरायलमा सयौँ मानिसहरू झण्डा बोकेर र बन्धकहरूको फोटोसहित उपस्थित भएका थिए ।
रिहा हुने बन्धकहरूलाई स्ट्रिपबाट रिइम नजिकको सैनिक सुविधामा लगेर प्रारम्भिक शारीरिक तथा मानसिक जाँच गरिने र परिवारसँग भेट गराइनेछ । इजरायली प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनकी पत्नी साराले लेखेको व्यक्तिगत सन्देश सार्वजनिक गरेको छ ।
बन्धकहरूको रिहाइको सम्झौताअनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अनुसार, इजरायलले करिब २,००० प्यालेस्टिनियन बन्दीहरू रिहा गर्नेछ र गाजामा ‘पूर्ण सहायता’तुरुन्त उपलब्ध गराउने व्यवस्था गर्नेछ, जहाँ केही क्षेत्रहरूमा खाद्यान्न अभाव र भोकमरीको समस्या देखिएको छ ।
एएनआई