अनावश्यक रुपमा शिक्षक विरोधी भाष्यहरू निर्माण भएका छन् : अध्यक्ष सुवेदी
काठमाडौँ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अहिले अनावश्यक रुपमा शिक्षक विरोधी भाष्यहरू निर्माण भएको बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित शिक्षा बहस कार्यक्रममा बोल्दै उनले अहिले अनावश्यक रुपमा शिक्षक विरोधी भाष्यहरू निर्माण भएको भन्दै त्यसले शिक्षकको उत्साह अभिप्रेरणा पनि नजगाउँने र विद्यालय शिक्षा पनि उँभो नलाग्ने बताएका हुन् ।
उनले भने, ‘अहिले अनावश्यक रुपमा शिक्षक विरोधी भाष्यहरू निर्माण भएको छ । त्यसले शिक्षकको उत्साह अभिप्रेरणा पनि जगाउँदैन र विद्यालय शिक्षालाई पनि उँभो लादैन् । त्यसैले त्यो कुरामा पनि सतर्क हुनुपर्छ । शिक्षकले सबै कुरा नियन्त्रणमा लिएर सम्पूर्ण दायित्व निर्वाह गर्न सक्दैन ।’
त्यस्तै, उनले सामाजिक सञ्जालमा आन्दोलनमा सहभागी नहुने शिक्षकलाई महासंघले कारबाही गर्ने भन्ने हल्ला गलत रहेको स्पष्ट पारे । पेसाकर्मीले दुनियाँमा कहिकतैपनि आन्दोलन गर्दा तलब नछोड्ने चलन रहेको भन्दै आफूहरूले पनि तलब नछाड्ने बताए ।
उनले भने, ‘सामाजिक सञ्जालमा आन्दोलनमा सहभागी नहुने शिक्षकलाई महासंघले कारबाही गर्ने भनेर आएको छ । त्यो हामीले कतै लेखेको छैन । हाम्रो तर्फबाट नलेखिएको तर व्यक्ति कसैले लेख्नुभएको छ भने हामी जिम्मेवार छैनौँ । हामीले तलब खाने हो । पेसाकर्मीले दुनियाँमा कहिकतैपनि आन्दोलन गर्दा तलब छोड्दैनन् । हामी तलब छोड्दैनौँ । हामी त काम नै गरिराखेका छौँ । शिक्षा क्षेत्रको निर्माणको लागि आन्दोलनको काम गरिराखेको छैनौँ ?’
त्यस्तै, उनले समाजमा शिक्षकहरूको माग मुद्दाको बारेमा कोही कसैले पनि नबोलिने कारण आफूहरुनै बोल्न बाध्य भएको बताए । गुणस्तर शिक्षाको लागि शिक्षणयोग्य वातावरण चाहिने भन्दै यो वातावरण निर्माणको लडाईमा आफूहरू रहेको उनको भनाई छ ।
उनले भने, ‘हाम्रो माग मुद्दामा सेवा सुविधाको कुरा धेरै छन् । त्यसको बाध्यता के छ भने समाजमा हामी बाहेक हाम्रो माग मुद्दाको बारेमा कोही बोलिदिँदैन । त्यसो भएपछि हामीले नै हाम्रो माग मुद्दा बिर्सियौँ भने समाजमा कसले उठाइदिने ? गुणस्तर शिक्षाको लागि शिक्षणयोग्य वातावरण चाहिन्छ । यदि शिक्षकबाट त्यो अपेक्षा गर्छौ भने त्यो वातावरण निर्माण गर्दिन सक्नुपर्छ । त्यो लडाईमा नै हामी छौँ ।’