१४ वर्ष पछि बानाको सत्ता उल्टाउनेहरू…
बिष्णु हरि घिमिरे
बाल्टिमोर, मेरिल्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना) को अप्रिल ६ तारिख आइतबार भएको निर्वाचनमा जीतेन्द्र (जीतेन) गुरुङ अध्यक्षमा विजयी भए । बाना वर्तमान कार्यसमितिको सल्लाहकार रहेका जीतेनको प्यानल नै विजयी भयो।
बानाको इतिहासमा नै यस पटक तीन टिम प्यानल नै बनाएर मैदानमा उत्रिएका थिए। जसमा संस्थापन पक्षले लज्जास्पद हार बेहोर्यो। १४ वर्ष देखि बानामा एक क्षत्र राज गरेको संस्थापन पक्ष यस पटक तेस्रो भयो।
बानामा सन् २०११ पछि संस्थापन पक्षले सत्ता गुमाएको हो। तत्कालिन अध्यक्ष रविना थापा पछि विजय श्रेष्ठले चुनाव जिते यता बाना निर्वाचनमा प्रवासी नेपाली मञ्च निर्णायक हुँदै आएको थियो। विजयले दुई कार्यकाल चलाए। त्यस पछि कुलमणि आचार्य र अनि अनुशुया वन्त एक एक कार्यकाल अध्यक्ष भए। पछिल्लो दुई कार्यकाल सुबोध विलास पन्त अध्यक्ष रहे।
अप्रिल सात तारिख सोमबार बिहान चुनावको नतिजा सार्वजनिक भएको केही घण्टामा नै बाल्टिमोर निवासी प्रभु थापाले १६ वर्ष पछि अध्यक्षमा आफ्नो मत खेर गएको भन्दै सामाजिक सञ्जालमा लेखे।
प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य, अमेरिका इन्चार्ज तथा ओएनएफ अमेरिकाका पूर्व अध्यक्ष, बानाका पूर्व महासचिव एवं बाना ट्रस्टीका नवनिर्वाचित अध्यक्ष थापाले विजयी जीतेन टिमलाई बधाई दिए र सहकार्यको प्रस्ताव पनि गरे।
चुनाव जीतेको तेस्रो दिन बुधवार साँझ जीतेन टिमले बाल्टिमोरमा ‘भव्य विजयी भोज’ आयोजना गर्यो। २४ घण्टा भन्दा कम समयको सूचना दिएर विइकडेजमा (कामको दिन) आयोजित रात्रि भोजमा झन्डै एक हजार जनाले सहभागिता जनाएको आयोजकको भनाई छ।
बानामा निर्वाचित जीतेन्द्र गुरुङ टिमको धन्यवाद कार्यक्रम नाम दिएको रात्रि भोजका सभापति बाल्टिमोरका बौद्धिक व्यक्तित्व डा. श्याम कार्कीले जीतेन टिमको विजयलाई एक प्रकारको मुक्ति र घरफिर्तीको अनुभूति भन्दै सामाजिक सञ्जालमा लेखे।
कार्की बानाको विधान लेख्ने मध्येका एक हुन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का संस्थापक उपाध्यक्ष डा. कार्की नेपाली अमेरिकी सांस्कृतिक केन्द्र बाल्टिमोर (एनएसीसी) हिन्दु बुद्ध मन्दिरका अध्यक्ष पनि हुन्।
‘रविना जीको कार्यकाल सकिएपछि चुनाव अर्को समूहले जित्यो, जसले संस्थालाई राजनीतिकरण गर्यो र निकै पक्षपाती बनायो। परिणामस्वरूप, धेरै जोशिलो र ऊर्जावान युवाहरू निराश भई बानाबाट टाढा भए।‘डा. कार्कीले अगाडि लेखेका छन्, ‘त्यसैले यो विजय एक प्रकारको मुक्ति र घरफिर्तीको अनुभूति हो, र मलाई आशा छ कि अब संस्था फेरि आफ्नो मूल उद्देश्य-समावेशिता, पारदर्शिता, र सेवा-केन्द्रित कार्यशैली—तर्फ फर्कन सक्नेछ।‘
प्रभु थापा र डा. श्याम कार्कीले सामाजिक सञ्जालमा व्यक्त धारणाले पनि बानाको यस पटकको निर्वाचन कत्तिको पेचिलो भयो भन्ने देखाउँछ ।
रविना थापा अध्यक्ष हुँदा गौतम दाहाल महासचिव थिए। सन् २०११ को बाना चुनावमा पत्रकार समेत रहेका दाहाल आफै अध्यक्षमा हारे। त्यस पछि ‘बानामा पाइलो पनि टेक्दिन’ भन्ने कसम खादै बसे। आफूलाई हराउनमा कांग्रेसीहरुको मुख्य हात रहेको दाहालको दुखेसो थियो।
दाहाल पछि अर्का पत्रकार शतिस चापागाईँ बानामा कांग्रेसीहरुको तर्फबाट अध्यक्षमा चुनाव हार्नेमा नाम लेखाउन पुगे। उनको हारको कारक पनि कांग्रेसीहरु नै भएको बताइयो। ‘अगुल्टोले हानेको कुकुर बिजुली देख्दा कुई’ भने जस्तै दुई कांग्रेसी पत्रकारले लगालग अध्यक्षमा चुनाव हारे पछि बानामा तेस्रो व्यक्तिले आट गर्न सकेको थिएन्। यति सम्मकी यस अगाडिको चुनावमा प्रवासी नेपाली मञ्चका दुई व्यक्ति सुबोध पन्त र हिरा गुरुङ आपसमा प्रतिस्पर्धी बने।
कांग्रेसीहरुले अब सकिन्न भनेर गति छोडेको बानामा डा. श्याम कार्कीको भाषामा ‘मुक्ति र घरफिर्तीको अनुभूति’ का लागि मार्ग खोल्ने काम पाँच पात्रले गरेका हुन्। जो १४ वर्ष पछि बानाको सत्ता उल्टाउन सफल भए।
ती पाँच पात्र हुन्, एनआरएनए मेरिल्याण्ड च्याप्टरका पूर्व अध्यक्ष एवं नेपाल सरकारका पर्यटन दूत राजु पराजुली, नेपाल प्रेस युनियनका पूर्व महासचिव तरुण पौडेल, पर्वत समाजका अध्यक्ष रवीन शर्मा, नेपाल प्रेस युनियन र बानाका पूर्व उपाध्यक्ष शतिस चापागाईँ तथा स्वयम जीतेन गुरुङ ।
राजु पराजुली एनआरएनए मेरिल्याण्डको नेतृत्व कुल गुरुङलाई सुम्पिए पछि हौसिएका थिए। एनआरएनए मेरिल्याण्डको अध्यक्षमा कुल गुरुङले प्रेम सुवेदीलाई हराएका थिए । ‘एनआरएनएमा कुल दाईलाई जिताए पछि अब बानामा पनि नेतृत्वबारेमा किन नसोच्ने भन्ने भयो।’ कांग्रेसीहरुले वाक ओभर दिएको भनिएको बानाका बारेमा योजना बनाउँदाको कुरा पराजुलीले सुनाए।
‘हामीलाई समाज सेवा गर्ने इच्छा भएको र काम गर्न सक्ने मान्छे चाहिएको थियो, पाँच जना कफी पिउँदै थियौ, जीतेनलाई अगाडि किन नबढाउने भन्ने भयो।‘पर्वत समाजका अध्यक्ष रवीन शर्माले योजनाको पोको खोले।
‘राजु र शतिस मेरा व्यवसायी साझेदार हुन् त्यस कारण उहाँहरू सँग धेरै कुरा साझा हुन्छ तर कोभिडको समयमा बानाबाट म जसरी समुदायमा पुगे त्यस पछि नै मलाई कुनै दिन यसको नेतृत्व गर्नु पर्छ भन्ने लागेको थियो।‘योजनाको इतिश्री गर्दै समाज टाइम्स सँग जीतेनले भने।
‘म नेपालमा रहँदै समाजसेवामा भिजेको हुँ, अमेरिका आए पछि पनि कुनै न कुनै संस्थाबाट समाज सेवामा जोडिएको थिए, अब बाना बाट नै मैले मेरो समाजसेवाको हुटहुटीलाई पुरा गर्नु पर्छ भन्ने भयो।‘जीतेनले भने, ‘यी पाँच जना मात्र होइन म सबैको उम्मेदवार भए, मलाई सबैले सहयोग गरे।‘
झन्डै दुई वर्ष अगाडि देखि जीतेन बानाको भावी अध्यक्षको तयारीमा जुटे। मेरिल्याण्डमा विभिन्न नेपाली समाजले आयोजना गर्ने मेला महोत्सव, विभिन्न चाडपर्व, मर्दा पर्दा जहाँ जहाँ उनी पुग्थे मान्छेलाई भनिहाल्थे, ‘म अब बानाको अध्यक्षको उम्मेदवार तपाईँले सहयोग गर्नु पर्छ।‘
अघिल्लो वर्ष बानाको साधारण सभा भन्दा अगाडि समाज टाइम्सले जीतेनको उम्मेदवारी घोषणाको समाचार प्रकाशित गरेको थियो।
संस्थापन पक्षले यसलाई ‘टु अर्ली भन्यो’। स्वयम अध्यक्ष सुबोध विलास पन्तले ‘हामीले नफुकी बाल्टिमोरमा पात हल्लँदैन’ भन्ने शैलीमा प्रतिक्रिया दिए।
हुन पनि सुबोधले बानालाई दिएको समयको सबै तिरबाट प्रशंसा भइरहेको थियो। ‘बोल्नमा प्रस्ट, समय दिने, खट्ने र काम गर्ने मान्छे हुन् सुबोध ।‘ उनका आलोचकको टिप्पणी हुन्छ।
त्यसले पनि उनी आफ्नो समर्थन विना उत्तराधिकारी निर्वाचित हुन सक्दैन भन्नेमा ढुक्क देखिन्थे। संस्थापन पक्ष अति आत्मविश्वासी देखिँदै गर्दा जीतेन भने समुदायमा नपत्याउने गरी छिरिसकेका थिए।
‘जसले धेरै सदस्य बनाउँछ उसैले चुनाव जित्छ।‘ यो तथ्य हो।
‘हामीले टिम विस्तार गर्दै गयौ, सदस्यता बनाउनका लागि ७० जना खटिएका थिए।’ पर्वत समाजका अध्यक्ष रवीन शर्माले योजना सुनाए, ‘हामी टोल टोलमा पुग्यौ, सबै ठाउँमा जीतेन पुगे, उनले आफ्नो योजना सुनाए अनि सहयोग मागे।’
१७ सय सदस्य बनाएको भन्दै ढुक्क भएको जीतेन टिम त्यति बेला पसिना पसिना भयो जुन दिन पर्वत जिल्लाकै कोशिस भण्डारीले पनि अध्यक्षको उम्मेदवारी दिने तयारी गरे।
जानकारहरूका अनुसार कोशिसका भाइ प्रवीण भण्डारी पर्वत समाजको अध्यक्ष हुन चाहेका थिए। तर त्यहाँ विवाद भयो र रवीन शर्मा नै दोहोरिए, त्यस पछि भण्डारी दाजुभाइ ‘सी यु बाना’ भन्दै हिँडेका थिए।
कोशिस र प्रवीण नेपाली मुलका पहिलो अमेरिकी डेलिकेट डा. ह्यारि भण्डारीका सहोदर भाइ हुन्।
त्यस पछि हो बाल्टिमोरको माहौल तातिएको। संस्थापन पक्षले आफ्नो उम्मेदवार टुङ्गाउनै सकेको थिएन। जीतेनको पक्षमा बाल्टिमोरका भेट्रानहरु एक पछि अर्को खुल्न थाले। यस अगाडि एकले अर्कोको अनुहार नै हेर्न नरुचाउने कांग्रेस निकटहरू पनि जीतेन जिताऊ अभियानमा जोडिए।
रामचन्द्र अधिकारीलाई अभियानको कमान्डर तोकियो। त्यस पछि बाल्टिमोरको नेपाली समाजको राजनीतिमा ‘घिमिरे टोल’ बाट चिनिनेहरू पनि जीतेनको पक्षमा देखिए। सुदूर पश्चिम समाजका अध्यक्ष विक्रम शाही जीतेन टिमको म्यानेजर भए। लोक गायक कमल खनालले टिमका लागि गीत नै तयार पारे।
एनआरएनए मेरिल्याण्डका पूर्व अध्यक्ष डोलनाथ घिमिरे, पर्वत समाजका संस्थापक अध्यक्ष तथा एनआरएनए मेरिल्याण्डका अर्का पूर्व अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ, एनआरएनए मेरिल्याण्डका संस्थापक अध्यक्ष जेदु पोखरेल, नेपाली जनसम्पर्क समितिका नेता नारायण थापा पनि यस पटक जीतेन जिताउन लागे।
उनीहरूलाई डर थियो कोशिसले जीतेनको भोट काट्छन्। त्यसो त संस्थापन पक्षले पनि त्यही आँकडामा मुख मिठ्याएको थियो। ‘नौ सय भोट त पक्का छ, हामीले यत्रो काम गरेका छौ थप दुई चार सय भोट कसो नआउला।’ लक्ष्मी भारतीले जित्ने आधारमा बारेमा संस्थापन पक्षको भनाइ हुन्थ्यो।
अर्को तर्फ यस पटक जसरी पनि बानाको सत्ता उल्टाउने अभियानमा लागेकाहरू ह्यारी भण्डारीको रोहबरमा वार्तामा बसे। ‘जीतेन र कोशिस मध्ये को पहिलो डेढ वर्ष अध्यक्ष हुने भन्नेमा कुरा नमिले पछि वार्ताले सार्थकता पाएन।’
गोला थुत्ने भण्डारीको प्रस्तावलाई जीतेनले स्विकारेनन्। जसले गर्दा भण्डारी दाजुभाइले पनि बाल्टिमोरमा आफ्नो परिवारको हैसियत मापन गर्न अवसर पाए। किनकि डेलिगेट ह्यारि स्वयम आफै मैदानमा नदेखिए पनि उनकी धर्मपत्नी देखि अन्य परिवारका सबै सदस्य र सचिवालयका सदस्य फिल्डमा खटिएका थिए।
लामो समय देखि ह्यारि भण्डारीको सचिवालयमा काम गर्दै आएका गौतम दाहालले मेरो त एक भोट हो, मेरा दुवै भाइ बराबर मलाई अप्ठेरो पर्यो भन्दै सामाजिक सञ्जालमा रोहिलो गर्न थाले।
जीतेन टिम दबाबमा थियो। चुनाव मुखैमा आउँदै छ। एउटै जिल्लाको दुई उम्मेदवार। लौ भएन। उनीहरुले भोट माग्ने रणनीति नै परिवर्तन गरे। कोशिस टिम फेसबुक लाइभमा र लक्ष्मी टिम फोन म्यासेन्जरबाट भोट माग्दै गर्दा जीतेन भने मतदाताको दैलो ढकढकाउन पुगे।
‘कम त गरेको छु, यो १५ दिनमा मैले एक हजार मान्छे गनिगनी भेटे।’ आइतबार मध्यरातमा निर्वाचन समितिले मतगणनाको दोस्रो चरणको नजिता सार्वजनिक गरे पछि, लामो श्वास तान्दै जीतेनले भोट माग्दाको पोल खोलेका थिए।
‘मान्छे फोनमा कुरा गर्न झर्को मानेको थाहा पाए र भेट्न घर घर गए’ घरमा श्रीमती दोस्रो सन्तानको प्रतीक्षामा रहँदै गर्दा जीतेन भोट माग्नमै व्यस्त थिए।
‘मैले एउटा मतदातालाई तीन पटक आफैले भेटेको छु।’ अझै पनि कोशिसले उछिन्ने हो की भन्ने डरबाट पूर्णमुक्त नहुँदै गर्दा मतगणना स्थलमा निर्वाचन समितिले बनाएको मिडिया सेन्टरमा आइपुगेका जीतेनले भनेका थिए।
‘मलाई रोक्न, लक्ष्मीका मान्छेले कोशिसलाई भोट हाले, नत्र त्यत्रो भोट आउने नै थिएन ।‘जीतेन शङ्का मान्दै थिए। त्यसो त कोशिसको पनि त्यही शङ्का थियो। ‘लास्टमा लक्ष्मीका मान्छेले जीतेनलाई भोट हाले नत्र मैले चुनाव जितेको थिए।’ उनी भन्दै थिए।
तर लक्ष्मी टिम भने आफूलाई धोका दिएकाहरूको संख्या गन्दै थिए। विषेश गरी वर्तमान महासचिव तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार सागर घिमिरे आफ्नो समूहको मत उल्लेख्य गिरावटका कारणहरू विश्लेषण गर्दै थिए।
चुनाव अगाडि नै ‘टिम बाना’ भन्ने उत्ताउलो नारा उनीहरूका लागि भारी भइरहेको प्रारम्भिक नतिजाले देखाएको थियो। त्यसो त चुनाव प्रचारमा जाँदा बानाको लोगो अङ्कित टिसर्ट लगाएको पनि सायद मतदाताले मन पराएनन्।
अनि चुनावमा संस्थागत स्रोतको दुरुपयोग र आर्थिक अपारदर्शिताको मुद्दा पनि संस्थापक टिमलाई भारी बन्यो।
‘काम गरेका छौ भोट दिन्छन् भनेर मात्र पनि नहुँदो रहेछ।‘ बानाका पूर्व अध्यक्ष तथा ट्रस्टीका वर्तमान अध्यक्ष कुल आचार्य मतगणना स्थलमा भन्दै थिए। ‘मान्छेले परिवर्तन पनि खोज्दो रहेछ।’
हो, चुनाव जित्न सदस्य बन्नु पर्छ, बनाउनु पर्छ, र बनेका सदस्य भोट हाल्न मतदान केन्द्र सम्म आउनु पर्छ, ल्याउनु पर्छ। यी सबै कुरामा यस पटक संस्थापन पक्ष चुक्यो।
‘५०-६० जना मान्छे चुनाव गराउन स्वयम सेवकको रुपमा मतदान केन्द्रमा २४ घण्टा भन्दा बढी खटिए, हाम्रो सबै म्यानपावर त्यतै खर्च भयो।‘ बाना ट्रस्टीका नवनिर्वाचित अध्यक्ष प्रभु थापा भन्दै थिए, ’हामीलाई व्यवस्थित र निष्पक्ष रुपमा चुनाव गराउनु थियो,त्यसैमा व्यस्त भयौ।‘
‘अर्को तर्फ हाम्रो आफ्नै उम्मेदवार थिएन्, अघिल्लो पटक फरक टिमबाट जिते पनि लक्ष्मी भारतीको मिलेर काम गर्ने शैलीले उनलाई हुँदैन भन्नु पर्ने अवस्था पनि थिएन, संस्थामा दुई कार्यकाल राम्रो काम गरेको, संस्था बुझेकोलाई हामीले समर्थन गरेका हौ।’ थापाले भने।
थापाले भने जस्तो त्यति मात्र उनीहरूको सत्ता १४ वर्षमा खोसिनुको कारण होइन।
खासमा जीतेनको तयारीलाई टु अर्ली भनेर बस्नु र उनलाई कमजोर आँक्नु, प्रवासी मञ्चको आफ्नो उम्मेदवार नहुनु, लक्ष्मी भारती र हिरा गुरुङलाई सँग सँगै लैजान खोज्नु, उपाध्यक्ष भीम केसी र महासचिव सागर घिमिरे बीचको द्वन्द्व मिलाउन नसक्नु, त्यो भन्दा ठूलो अति आत्म विश्वासी हुनु लक्ष्मी टिमको हारका कारक बने।
अर्को तर्फ यस अगाडि आपसमा खुट्टा तानातान गर्दामा रमाउँदै आएका कांग्रेजीजनहरु मध्ये ठूलो संख्या यस पटक जीतेनको पक्षमा मोर्चा कस्न पुगे। यति सम्मकी ठाउँ ठाउँमा बदनाम भएको नेपाली जनसम्पर्क समितिले पनि मौकाको फाइदा उठाउन पायो।
अर्को तर्फ क्षेत्रीयता, भूगोल र जातीयताको हिसाबमा पनि जीतेन टिम समावेशी थियो।
पावर सेन्टर अब भान्जामा?
यस वर्ष बाना अमेरिकामा क्रियाशील नेपालीहरूको संस्थामा एनआरएनए अमेरिका पछि सबै भन्दा धेरै सदस्य हुने संस्था बनेको छ। यही चुनावका लागि भनेर दोब्बर भन्दा धेरै यस पटक सदस्य बने। चार हजार आठ सय तीन जना सदस्य बनेका थिए।
अध्यक्षमा पर्वतका दुई जना प्रतिस्पर्धी बने। तर खासमा यो भिडन्त लमजुङका तीन जनाको थियो। प्रभु थापा लमजुङ राइनसका हुन्। सुबोध विलास पन्त तार्कुघाटका। अनि लमजुङमा नेविसंघको राजनीति गरेर अमेरिका आएका राजु पराजुली नरुवलका हुन्। पराजुलीको मामाघर राइनास हो। त्यस कारण पराजुलीले थापालाई मामा भनेर संवोधन गर्छन्। यी तीनै जनाको बाल्टिमोरमा रेस्टुरेन्ट व्यवसाय छ।
पराजुली एनआरएनए मेरिल्याण्डको अध्यक्षको उम्मेदवार हुँदा नेपाली जनसम्पर्क समिति र अधिकांश कांग्रेसी हस्तीहरू उनको विरुद्धमा थिए । त्यो बेला थापा र पन्तले जिल्लावासी पराजुलीलाई सहयोग गरेका थिए। त्यसको गुन पराजुलीले बानाको पछिल्लो चुनावमा पन्तलाई सघाएर तिरेका थिए।
सुबोध पन्तले पनि जीतेनलाई सल्लाहकार बनाएर हिसाब किताब बराबर बनाएका थिए। तर यो बीचमा मर्स्याङ्दी नदीमा धेरै पानी बग्यो। यो पटक मामा भान्जा एकै ठाउँमा रहन सकेनन्।
बाना चुनावमा बाजी भान्जाले मारे। थापाले १६ वर्ष पछि अध्यक्षमा मत खेर गयो भनेर लेख्न बाध्य भए ।
जीतेन टिमको विजयी रात्रि भोजमा पराजुलीको गुनासो थियो, ‘नेपाल सरकारको पर्यटन दूत म तर मलाई बानाको चुनावमा पर्यवेक्षक सम्म दिइएन अब बाना त्यसरी चलाउन हुँदैन।‘
जे होस बाना राजनीतिमा यस अगाडि मामा अर्थात् थापा पावर सेन्टरको रुपमा थिए, तर यस पटक पावर सेन्टर भान्जामा सरेको छ। तर अब भान्जाले भने जस्तै गरी बाना चल्ला ? त्यो हेर्न बाँकी छ।
जीतेनका लागि चुनौती चाङ
जीतेनको चुनावी अभियानलाई उनका विपक्षीले भड्किलो भनेर आलोचना गरेका थिए। अझ विजयी भोज देखेर मान्छेले जिब्रो काढेका थिए। ‘एउटा सामाजिक संस्थाको चुनाव जित्दा यत्रो खर्चिलो भोज किन्’ भन्ने प्रश्न पनि उठेको छ।
अर्को तर्फ चार तीर फर्किएका कांग्रेसीजनलाई उनले कसरी मिलाएर लैजान्छन् भन्ने अर्को जटिल प्रश्न छ। अब सबैलाई मैले जीतेन जिताएको हुँ भन्ने जस लिनु छ।
अमेरिकामा रहेको नेपाली समाजमा अत्यन्त विवादित पात्र नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टलाई विजयी भोजमा प्रमुख अतिथि बनाएको बारेमा जीतेन टिमको चुनावी मोर्चाका सक्रिय सदस्यले नै एक अर्कालाई मुखामुख गरेका थिए।
आनन्द विष्ट यस्तो पात्र हुन जसले सन् २०१४ देखि अहिले सम्म संस्थाको चुनाव गराएका छैनन्। नेपाली कांग्रेसको विदेश स्थित भातृ संगठन र जननायक बिपी कोइरालाले परिकल्पना गरेको जनसम्पर्क समितिले सन् २०१७ यता साधारण सभा पनि गरेको छैन। उनले प्रजातन्त्र र विधिको शासन भन्ने शब्दको अबमूल्यन गरेका छन्।
अमेरिकामा ५०१ सीमा दर्ता भएको संस्थाले हरेक वर्ष साधारण सभा गराउनु पर्ने हुन्छ। कोष पारदर्शि छैन्। त्यो भन्दा ठूलो गल्ती आनन्द विष्ट र उनका महासचिव मुनेन्द्र नेम्वाङले गरेका छन्।
२०७२ सालमा नेपालमा विनाशकारी भूकम्प जाँदा नेपालमा तत्काल राहत वितरण गर्ने भन्दै नेपाली जनसम्पर्क समिति अमेरिकाले आर्थिक सङ्कलन गरेको थियो। त्यसको छ महिना पछि, विष्ट र नेम्वाङले भूकम्पका लागि उठाइएको रकम हिनामिना गरेको आरोपमा एकले अर्कालाई निष्कासन गरेका थिए।
उनीहरुले आपसमा गरेको कारबाही कहिले र कसरी फुकुवा भयो, हिनामिना गरे भनिएको रकमको हरहिसाब कसरी मिल्यो यो दश वर्ष सम्म सार्वजनिक गरेका छैनन्। न त संस्था नै विधिवत् चलेको छ।
बिपी, चार तारे झन्डा र रुखलाई साक्षी राखेर भूकम्प पीडितका लागि उठाइएको रकम हिनामिनाको आरोपमा कारबाही भएका व्यक्तिलाई न्यु योर्कबाट बोलाएर आफ्नो विजयी भोजमा प्रमुख अतिथि बनाउँदै जीतेनले के सन्देश दिन खोजेका हुन ? त्यसले बानाको अबको राजनीतिमा के कस्तो असर पर्ला? त्यहीबाट उनको परीक्षा शुरु हुने छ।