वीर अस्पतालमा स्वास्थ्यकर्मी सङ्क्रमित भए पछि सेवा प्रभावित
काठमाडौँ / नेपालमा पछिल्ला समय कोरोनाको जोखिम बढेसँगै धमाधम स्वास्थ्यकर्मीहरू सङ्क्रमित हुन थालेका छन् । बिहीबार मात्र एकै दिन त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीलाई सङ्क्रमण पुष्टि भएको थियो ।
त्यस्तै, वीर अस्पतालका ३० जनाभन्दा बढी कर्मचारीलाई पनि कोरोना सङ्क्रमण देखिएको छ । गएको दुई दिन यता उनीहरू सङ्क्रमित भएको अस्पतालले जनाएको छ ।कोभिड–१९ युनिफाइड अस्पतालका प्रमुख डा. भूपेन्द्र बस्नेतका अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या थपिँदै गएसँगै स्वास्थ्यकर्मीहरूमा समेत सङ्क्रमण देखिन थालेको छ ।
वीर अस्पतालको विभिन्न वार्ड तथा आइसियुमा कार्यरत स्वास्थ्यकर्मीमा सङ्क्रमण तीव्र गति फैलिरहेको डा. बस्नेतले बताएका छन् ।चिकित्सकहरूका अनुसार केही दिनयता अस्पतालमा कोरोना सङ्क्रमितको भर्ना हुने दर वृद्धि भएको छ । एकै रातमा वीर अस्पतालमा १४ जना सङ्क्रमित अस्पताल भर्ना भएको उनको भनाई छ ।
अहिलेकै रफ्तारमा भर्ना सङ्ख्या बढ्ने हो भने केही दिनभित्रै अस्पतालका शय्या भरिने उनले बताए । हाल वीरमा ५३ जना सङ्क्रमितको उपचार भइरहेको छ । ५ सय बेडसम्म सञ्चालन गर्न सकिने अस्पताल प्रशासनले जनाएको छ ।














