सैन्य मिसनको बावजुद हाइटीमा हिंसा अझै तीव्र : राष्ट्रसङ्घ
काठमाडौं। हाइटीमा राष्ट्रसङ्घ समर्थित बहुराष्ट्रिय सैन्य मिसनको तैनाथीका बावजुद हिंसा तीव्र रूपमा बढिरहेको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि मारिया इसाबेल साल्भाडोरले मङ्गलबार सुरक्षा परिषद्मा हाइटीको सुरक्षा अवस्था अत्यन्तै नाजुक रहेको र हिंसा तीव्र रूपमा फैलिरहेको जानकारी दिए।
यो अभिव्यक्ति केही हप्ताअघि मध्य सहर पोर्ट सोन्डेमा भएको गिरोह आक्रमणमा ११५ जना सर्वसाधारण मारिनुका साथै दर्जनौँ घाइते भएको घटनापछि आएको हो। साल्भाडोरले राजधानी पोर्ट–आउ–प्रिन्समा भएका अन्य आक्रमणहरूको श्रृङ्खलालाई पनि उल्लेख गर्दै महिला र युवती विरुद्ध बढ्दो यौन हिंसाबारे चिन्ता व्यक्त गरे।
उनले हाइटीमा मानवीय अवस्था भयावह भएको र देशभर आपराधिक गिरोहहरूले फैलाएको आतङ्कका कारण हाइटीवासीले ठूलो पीडा सहनुपरेको बताए।
संयुक्त राष्ट्रसङ्घीय बहुराष्ट्रिय सैन्य बलले हाइटीको प्रहरीलाई सहयोग गरिरहे पनि राजधानीका विभिन्न जिल्लामा गिरोह विरोधी अभियान सञ्चालन गर्नका लागि स्रोतको अभाव रहेको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हालैको प्रतिवेदनमा यसबारे उल्लेख गर्दै प्रहरीको प्रभावकारी नियन्त्रण कायम गर्न चुनौतीहरू रहेको बताए।
संयुक्त राष्ट्रसङ्घ बालबालिकाहरूको सुरक्षाका लागि विशेष रूपमा चिन्तित रहेको छ, किनकि युनिसेफकी प्रमुख क्याथरिन रसेलले हाइटीका सशस्त्र समूहहरूमा ३० देखि ५० प्रतिशत सदस्य बालबालिका भएको अनुमान गरिन्।















