इजरायली निकासी आदेशपछि लेबनानी नागरिकको भागाभाग
काठमाडौं। इजरायली सेनाले टायर सहरको ठूलो भाग खाली गर्न चेतावनीसहितको निकासी आदेश जारी गरेपछि बुधबार हजारौं लेबनानी नागरिकहरु उक्त स्थानबाट भागेका छन्।
टायर सहर हाल विस्थापित हजारौं नागरिकहरूको वासस्थान रहेको स्थान हो, जहाँ मानिसहरू इजरायलको पछिल्लो चेतावनीपछि ज्यान जोगाउन भाग्न बाध्य भएका छन्।
टायरको विपद् व्यवस्थापन एकाईका प्रमुख मोर्ताडा महन्नाले यहाँको स्थिति निकै खराब रहेको बताउँदै मानिसहरूलाई सुरक्षित स्थानतर्फ तिव्र गतिमा स्थानान्तरण गरिएको जानकारी दिए । व्यवस्थापन एकाईका मिडिया अफिसर बिलाल काशमारले पनि सहरका धेरै मानिसहरू उपनगरतर्फ भागेको बताए। उनका अनुसार अहिले सम्पूर्ण टायर सहर खाली भएको छ।
लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीका अनुसार पटक–पटकका इजरायली धम्की र निकासी आदेशका कारण कयौँ परिवारहरूले आफ्नो घर छोडेर सुरक्षित स्थानतर्फ भाग्न थालेका छन्।
इजरायली सेनाले लेबनानी लडाकु समूह हिजबुल्लाहलाई लक्षित गरी सैन्य कारबाही गर्नु अघि टायरका बासिन्दाहरूलाई स्थान खाली गर्न आह्वान गरेको थियो, जसको कारण मानिसहरू तुरुन्तै भाग्न थालेका हुन्।
सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्समा टायरको प्रभावित क्षेत्रको नक्सासहितको फोटो पोस्ट गर्दै नागरिकहरूलाई तत्काल उक्त स्थान छोड्न र जीवनलाई खतराबाट जोगाउन आह्वान गरे।
टायरमा जारी यो मानवीय संकटले लेबनानी नागरिकहरूको सुरक्षालाई थप चुनौती दिएको छ, जसले गर्दा हजारौं मानिस विस्थापित भई सुरक्षित स्थान खोज्न बाध्य भएका छन्।