उचित मूल्यमा औषधी उपलब्ध गराउन सुझाव दिन समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधीको मूल्य नियन्त्रण र उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउने उद्देश्यले एक सात सदस्यीय सुझाव समिति गठन गरेका छन्। मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले अर्थविद् डा. पोषराज पाण्डेको संयोजकत्वमा समितिको गठन गरेका हुन्।
यस समितिमा स्वास्थ्यविद् डा. अर्पणा न्यौपाने, स्वास्थ्य अर्थविद् डा. देवीप्रसाद प्रसाईं, गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. सरोज शर्मा, र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिहरू सदस्यका रूपमा रहेका छन्। औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल समितिको सदस्य सचिवको रूपमा कार्यरत छन्।
समितिलाई दिइएको कार्यादेश
समितिलाई औषधीको मूल्य समायोजनका लागि आवश्यक नीतिगत सुधारका सुझाव दिन कार्यादेश दिइएको छ। यस क्रममा छिमेकी देशहरूको औषधी मूल्य सम्बन्धी नीतिहरूको अध्ययन गरेर उपयुक्त मूल्य निर्धारणका आधारहरू पहिचान गरी सिफारिस गर्ने भनिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, समितिले औषधी मूल्य सम्बन्धी अभ्यासहरूको पुनरावलोकन गर्नुका साथै गुणस्तर पहिचान गर्नेछ। साथै, औषधीको बजार मूल्य, आयात–निर्यात अवस्था, र सरकारी नीतिहरूको अध्ययन गरेर पनि मन्त्रालयलाई सुझाव दिनेछ।
समितिको काम
समितिले मूल्य निर्धारण गर्नुपर्ने औषधीहरूको सूची र प्रस्तावित अधिकतम खुद्रा मूल्य निर्धारणका आधारहरू प्रस्तुत गर्नेछ। यसका लागि आवश्यक कार्यविधि आफैंले तयार गर्नेछ र आवश्यकता अनुसार विषयगत उपसमितिहरू गठन गर्न सक्नेछ। समितिले सरोकारवालाहरूसँग छलफल गर्दै सुचना संकलन र बैठक सञ्चालनका कार्यक्रमहरू पनि निर्धारण गर्नेछ।
समितिले दिएको सुझावका आधारमा मन्त्रालयले औषधीको गुणस्तरलाई प्रभावकारी बनाउँदै उचित मूल्यमा उपलब्ध गराउन आवश्यक निर्णय लिनेछ।