रविको बयान : ‘सबै जिम्मा जीबी राईले लिनु पर्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले सरकारीमा भएको आर्थिक अनियमितताको जिम्मा जीबी राईले लिनुपर्ने बताएका छन् ।
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले शुक्रवार लिएको बयानमा लामिछानेले यस्तो बताएको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।
लामिछानेले आर्थिकसम्बन्धी सबै जिम्मा गोरखा मिडिया नेटवर्कका सञ्चालक राईले लिने गरेको बताउँदै ‘सहकारी ठगीबारेको सबै कुरा राईलाई नै थाहा होला’ भनेका थिए ।
समितिले गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीसँग पनि आजै सोधपुछ गरेको छ । जोशी र लामिछानेको कार्यकालमा चार वटा सहकारीबाट ८० करोडभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा लगिएको थियो ।
सहकारीमा भएको समस्याको विषयलाई लिएर संसदले गत १५ गते थापाको सभापतित्वमा समिति गठन गरेको थियो भने समितिले २३ गतेदेखि काम सुरु गरेको थियो । समितिले पाएको तीन महिनाको समयअवधि यहि भदौ २३ गते सकिँदैछ ।