प्रतिवद्धता पूरा गर्ने भनेपछि प्रचण्डलाई समर्थन गरेका हौं : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि विश्वास र समर्थन गर्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले प्रतिबद्धता अनुसार काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेको भन्दै आफ्नो समर्थन रहेको बताए ।
उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रश्ताव मन्तव्यमा प्रतिबद्धता जनाउनु भएको छ । प्रतिबद्धता गरेका काम गर्न सकेन भने मेरो प्रधानमन्त्रीत्वमा औचित्य छैन् । यसमा विश्वास गर्नु मलाई मत दिनु भनेपछि मत किन नदिने रु यति प्रतिबद्धता जनाउनु भएको छ, म यस प्रस्तावलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि यस गरिमाको विश्वास छ भन्ने कुरालाई समर्थन गर्दछु ।’
अध्यक्ष ओलीले देशका समस्या समाधान गर्ने हिसाबमा अगाडि बढ्न, आधारभूत रुपमा प्रजातन्त्रलाई बलियो बनाउन, संविधान कार्यान्वयन गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन सँगै काम गर्ने संकल्प गरेको पनि सुनाए ।
यस्तै, ओलीले नेपाली कांग्रेसले बारम्बार बेइमान गरेको बताए ।
ओलीले कांग्रेसले इमानका कुरा गर्नु बेकार हुने बताउँदै कांग्रेसले इमानको कुरा गर्दा आफूलाई अचम्म लाग्ने गरेको सुनाए । अहिलेको परिस्थिति एमालेको कारण बनेको नभई अघिल्लो गठबन्धनकै कारण बनेको उनले बताए । पोहोर दुई महिनामा नै सरकार परिवर्तन गर्दा अस्थिरता भएको नदेख्ने कांग्रेसलाई एक वर्षपछि कसरी अस्थिरता भयो भन्ने प्रश्न गरे ।
देशमा विभिन्न खालका विद्वेष र घृणा फैलाउने काम भइरहेका भन्दै उनले चिन्ता व्यक्त गरे । ‘देशको परिस्थिति सुखद छैन’, ओलीले भने । ओलीले नागरिक सर्वोच्चता भन्दा माथि कुनै पनि सर्वोच्चता नहुने बताए ।
नेपाल सम्पूर्ण नेपाली जनताको साझा राज्य भएको उल्लेख गर्दै उनले भने,‘देशलाई एकताबद्ध बनाउनु पर्छ, सबैको साझा राज्य हो, त्यसको कार्यान्वयन हुनुपर्दछ ।’
अध्यक्ष ओलीले बहुदलीय निर्वाचन प्रणाली रहेका कारण सत्ता समीकरण फेरबदल हुनु स्वाभाविक भएको बताए ।
नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस नेताहरुले अस्थिर भन्ने गरेको बताउँदै उनले दुई महिनामा सरकार परिवर्तन हुँदा किन अस्थिर भयो भन्नुभएन भन्दै प्रश्न गरे ।
उनले भने, ‘सत्ता परिवर्तन स्वभाविक छ । हामीले दलीय निर्वाचनको प्रणाली ल्यायौं । बहुमत कसैसँग पनि छैन । अस्थिरताको खेती तपाईहरुले गर्नुभएको हो नि । पोहोर दुई महिनामा सरकार परिवर्तन हुँदाखेरि तपाईहरुलाई अस्थिरता लागेन ? अहिले १४ महिनामा सरकार परिवर्तन हुँदा केको अस्थिरता ? दुई महिना नभइकन कसरि सरकार परिवर्तन गरेको हो ।’















