एमाले धादिङ : अधिवेशन बन्द सत्रमा कार्यकर्ताबिच कुटाकुट

काठमाडौँ । बन्द सत्रमा कार्यकर्ताबिच कुटाकुट भएपछि नेकपा एमालेको धादिङ जिल्ला अधिवेशन स्थगित भएको छ ।
शुक्रबारदेखि सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत नामका विषयमा शनिबार बन्द सत्रमा विवाद भई कुटाकुट भएपछि अधिवेशन स्थगित भएको बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिएका छन् ।
आइतबार एक विज्ञप्त जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित भएको ढुङ्गेले जानकारी दिए ।
बन्द सत्रमा कुटाकुट हुँदा एमाले कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ ।
‘माघ २० गते बन्द सत्रको सुरुवातबाटै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतङ्कित परिस्थिति देखापर्यो । यही क्रममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

