बेरोजगार नबसौँ उद्यमी बनौँ,पुँजी चाहिए राष्ट्र बैङ्कलाई भनौँ’
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क ५९ औँ वर्षमा प्रवेश गरेको छ । देशकै दोस्रो वाणिज्य बैङ्कको रूपमा २०२२ साल माघ १० गते स्थापना भएको बैङ्कले स्थापना दिवसको अवसर पारेर प्रभात फेरी निकालेको छ।
शनिवार वित्तीय साक्षरता तथा वित्तीय सचेतनाका लागी भद्रकालीबाट प्रभात फेरी सुरु गरी भुगोलपार्क,जमल,कमलादी,पुतलीसडक हुँदै पदमोदय मोड हुँदै केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा पुगेको थियो ।
बाजागाजा सहित निकालिएको र्यालीमा ‘बेरोजगार नबसौँ उद्यमी बनौँ,पुँजी चाहिए राष्ट्र बैङ्कलाई भनौँ’, ‘सागर बग्छ थोपा–थोपा जम्मा भई पानी,एक–एक पैसाबाटै जुट्छ लाखौँको लगानी’,‘बैङ्किङ सेवाको सर्वत्र विस्तार,आर्थिक विकासको मूल आधार’,‘कमाइ भन्दा खर्च बढी,डुब्यो मान्छे ऋणमा गडी’,‘ऋणको सदुपयोग गरौँ,समयमा साँवा व्याज तिरौँ’लगायतका विभिन्न दर्जन बढी नारा लेखिएको प्लेकार्ड बोकेर प्रभात फेरीमा कर्मचारी उपस्थित थिए ।
२०२२ सालमा नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापना गरिएको राष्ट्रिय वाणिज्य बैङ्क २०६३ वैशाख ६ गतेदेखि भने पब्लिक लिमिटेड कम्पनीको रूपमा सञ्चालन हुँदै आएको छ ।














