विराटनगर पुगेर शेखर कोइरालाले भने :’मलाई वरीयता दिने कार्यकर्ताले हो’

Getting your Trinity Audio player ready...
|
विराटनगर : नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफुलाई कार्यकर्ताले दिने वरीयतामा विश्वास रहेको बताएका छन् । पार्टीको १४औँ महाधिवेशनमा सभापतिमा पराजित कोइरालालाई सभापति शेरबहादुर देउवाले २० औ वरीयतामा राखेका छन् ।
विराटनगरमा सोमवार सञ्चारकर्मी सँगको प्रतिक्रियामा कोइरालाले कार्यकर्ताले राख्ने वरीयतामा आफुलाई विश्वास भएको बताए । ‘पार्टीको केन्द्रीय समितिले के गर्यो, सभापतिजीले के गर्नुभयो भन्नेतिर म जान चाहन्न, मलाई वरीयता दिने भनेको कार्यकर्ताले हो।’
‘मलाई कार्यकर्ता साथीहरूले माया गरेर १८ सय ५५ भोट दिनुभएको छ। मेरो तागत यही हो र म यसैमा टेकेर हिँड्छु।’ कोइरालाले भने । उनले आफ्नो अबको ध्यान आसन्न तीन तहको निर्वाचन रहेको बताए ।
कोइरालाले आफ्नो परिवारलाई मिलाउन नसक्नु पराजयको कारण रहेको र त्यसमा आफ्नो कमजोरी रहेको स्वीकारे । उनले अब १५ औ महाधिवेशनमा सभापतिमा उमेदवारी दिने नदिने बारेमा तत्कालिन परिस्थिति अनुसार निर्णय हुने बताए । ‘एक पटक यसै पटक भन्ने आफ्नो नारा अहिले पनि छ तर आगामी १५औँ महाधिवेशनमा समय, काल, परिस्थिति र कार्यकर्ताको भावनाअनुसार निर्णय हुन्छ।’