काठमाडौँ महानगरपालिका र काठमाडौँ विश्वविद्यालय बिच नीतिगत सम्झौता
काठमाडौँ । सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले, काठमाडौँ विश्वविद्यालयसँग नीतिगत सम्झौता गरेको छ । मंसिर २५ गते भएको प्रमुख स्तरीय निर्णयअनुसार उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको रोहवरमा आज शिक्षा अधिकारी सीताराम कोइराला र विश्वविद्यालय स्कूल अफ एजुकेसनका डीन प्रा. डा. बालचन्द्र लुइँटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
महानगरपालिकाले चालु आर्थिक बर्षदेखि कार्यान्वयनमा ल्याएको गौरव योजना ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ लाई दिगो र प्रभावकारी रुपमा सञ्चालन गर्नु सहकार्यको मुख्य उद्देश्य हो । योजनामा टिचर कलेज कार्यक्रम समावेश छ । यो कार्यक्रममा शिक्षकहरुको क्षमता विकास तालिम उपलब्ध गराइनेछ । शिक्षकसँगै शैक्षिक गुणस्तर सुधारमा योगदान गर्न चाहने व्यक्तिहरु सहभागी हुन सक्ने छन् । यसरी सञ्चालन हुने तालिममा दिइने प्रमाण पत्रलाई वृत्ति विकासका लागि योग्यता मानिनेछ ।
सम्झौताबमोजिम शिक्षामा सिप, पुस्तकरहित शुक्रबार तथा बाल सञ्जाल गठन तथा सशक्तिकरण, शिक्षक विद्यार्थीको प्रविधिमैत्री सिप विकास कार्यक्रम, शिक्षण सिकाइ पेडागोजीमा सुधार, विद्यार्थीको नतिजा सुधार र प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नतिका लागि सहकार्य हुनेछ । कार्यक्रम विश्वविद्यालयको स्कूल अफ एजुकेसनमार्फत कार्यान्वयनमा आउनेछ ।
टिचर कलेज कार्यक्रम महानगरपालिकाको नयाँ कार्यक्रम हो । यसमा विद्यालयका शिक्षक तथा सम्लग्न जनशक्तिको दक्षता बढाउन तालिम सञ्चालन हुनेछ । यसरी सञ्चालन भएका तालिमबाट प्राप्त गरेको अङ्कका आधारमा योग्यता निर्धाण हुनेछ । यसका लागि छोटो अवधिको पाठ््यक्रम तयार पारिनेछ ।
जनशक्तिको क्षमता विकासका क्षेत्र र आवश्यकता पहिचान गर्ने, पाठ््यक्रम र शिक्षण सिकाइ विधि तयार पार्ने स्कूल अफ एजुकेसनले गर्नेछ । यसका लागि आवश्यक पर्ने समय, जनशक्ति तथा अन्य प्रशासनिक खर्चको लागत अनुमान तयार पारेपछि कार्यक्रमगत सम्झौता हुनेछन् ।
सम्झौतापछि बोल्दै उपप्रमुख डंगोलले, असल नागरिक उत्पादन गर्न महानगरपालिकाले शिक्षा सुधारका लागि लगानी गरेको बताइन् । ‘हामीले तयार पारेका कार्यक्रम तत्काल कार्यान्वयन गर्न चाहन्छौँ । यसबाट नीतिमा सुधार गर्नु पर्ने कुनै अवस्था देखियो भने सुधारको अवसर प्राप्त हुनेछ ।’ उनले भनिन् ‘एउटा होइन, सबै सामुदायिक विद्यालय नमूना हुनुपर्छ । नानीबाबुलाई विद्यालय पठाउने बेला हरेक अभिभावकको मनमा सामुदायिक विद्यालयको चित्र आउने बनाउनुपर्छ ।’
त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, शैक्षिक सुधार कार्यक्रमसँगै विद्यालयको पूर्वाधारका लागि हरित विद्यालय कार्यक्रम कार्यान्वयनमा रहेको जानकारी दिए । ‘शैक्षिक क्रियाकलाप र पूर्वाधार दुवै क्षेत्रको सुधारबाट विद्यार्थीलाई व्यवहारिक र जीवनउपयोगी शैक्षिक वातावरण प्रदान गर्ने लक्ष्यमा साझेदारी गरेका हौँ ।’ उनको भनाइ थियो ।
‘सिकाइ जहाँ पनि हुन्छ । कक्षा कोठामा किताब पढेर मात्र योग्यता निर्धारण हुने होइन । व्यवहारिक र जीवनउपयोगी शिक्षाका लागि सिकाइका तरिका अनेक हुन सक्छन् । यसरी प्राप्त गरेको ज्ञानलाई अङ्क दिएर योग्यता निर्धारणसँग जोड्ने कामलाई महानगरपालिकाले स्थापित गरिदिएको छ ।’ विश्वविद्यालयका उपकुलपति डा. थापाले भने, ‘व्यक्ति, समुदाय र देशको उन्नतिका लागि परम्परागत तथा रैथाने ज्ञान र छोटो अवधिको तालिमबाट प्राप्त अङ्कका आधारमा योग्यता निर्धारण गर्नुपर्छ । यसले व्यक्तिको उत्पादनशीलता बढाउँछ । काममा प्रोत्साहित गर्छ ।’
महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा २ हजार २०२ जना शिक्षकले अध्यापन गर्नु हुन्छ । शिक्षा विभागका प्रमुख कोइरालाले, सामुदायिक शिक्षाको स्तर उकास्दै संस्थागत विद्यालयमा पनि कार्यक्रम लैजानु पर्ने आवश्यकता रहेको बताए ।
सम्झौता हुनु अगाडि सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, महानगरपालिकाले अहिले सञ्चालन गरिरहेका शैक्षिक प्रयासका बारेमा प्रस्तुतिकरण गरेका थिए । उनका अनुसार सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि हुने क्रममा छ । त्यहाँ अध्ययनरत करिब १५ प्रतिशत विद्यार्थीको अवस्था कमजोर छ । सामाजिक र आर्थिक रुपमा कमजोर तथा सीमान्तकृत परिवारका बालबालिका यस वर्गमा छन् । उनीहरुका बारेमा फरक तरिकाबाट सोच्नु पर्ने अवस्था छ ।



















