एनआरएनए निर्वाचन: औपचारिक रूपमा मैदानमा उत्रिए डा. बद्री, संस्थालाई ट्र्याकमा ल्याउन उम्मेदवारी
पेन्सिल्भेनिया,अमेरिका/विना तड्क भड्क, पाँच सय भन्दा बढीलाई साक्षी राख्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसीका) का कार्यकारी अध्यक्ष डा. बद्री केसीले दोस्रो कार्यकालका लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्।
एनआरएनएको चुनाव अक्टोबर १९ तारिख हुँदै छ। यस अगाडि चार जनाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। केसीले बुधवार औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका हुन्।
हिजो सम्म प्रतिनिधिको काममा व्यस्त भएको र आफू कार्यकारी पदमा रहेकाले मतादाताको नाम टुङ्गो नलाग्दा सम्म नैतिकताको आधारमा उम्मेदवार घोषणा गर्नको ढिलाइ भएको उनको स्पष्टीकरण थियो।
एनआरएनको आगामी नेतृत्वका लागि मैदानमा उत्रिएका अन्यको भन्दा डा बद्रीको उम्मेदवारी घोषणा कार्यक्रम सरल थियो। अन्य उम्मेदवारले देश विदेशका पाँच तारे होटेललाई उम्मेदवारी घोषणा स्थल बनाउँदा डा. बद्रीले भर्चुअल माध्यम रोजे।
उनको उम्मेदवारी घोषणाको सुरुवातमा झन्डै पाँच सयले प्रत्यक्ष उपस्थिति जनाएका थिए। उनले दोस्रो कार्यकालका लागि विजयी भएमा नौ बुँदामा काम गर्ने प्रतिबद्धता उनले जनाएका छन्। गत वर्ष संस्थालाई फुटबाट जोगाउन मिलीभगतमा जम्बो टिम बनाउन परेको उनको स्पष्टीकरण थियो।
‘गत वर्ष म चुनावमा गएको भए एनआरएनएमा ठुलो फुट हुन्थ्यो, त्यो जोगाउन मैले सहमति गरेको हुँ।’ उनले दाबी गरे।
केसीले आफूले निर्वाचित अध्यक्ष हुन चाहेको बताए। ‘डेलिगेट सँग परीक्षित हुन् पनि उम्मेदवारी दिएको हो।’ चुनावी सभामा उनले भने।
उनले अध्यक्षका अन्य प्रत्याशीहरू आफू भन्दा जुनियर भएकाले पनि आफूलाई छोड्नु पर्ने बताए।
‘रवीना थापा, महेश श्रेष्ठ, आर के शर्मा, विजय अधिकारी मेरो जुनियर हुनुहुन्छ, उहाँले मलाई छोड्नु पर्ने हुन्छ, त्यो भएन भने चुनाव हुन्छ।’ केसीले भने, ‘हामी प्रजातन्त्रमा विश्वास गर्नेहरू चुनावमा जान डराउन हुँदैन।’
कार्यकारी अध्यक्ष केसीले संस्थालाई ट्रायलमा ल्याउन आफूले पुन उम्मेदवारी दिएको बताए।
एनआरएनएको विधानमा टिम बनाएर चुनाव लड्न मिल्दैन तर अधिकांश वक्ताहरूले टिम बद्रीलाई चुनाव जिताउन आग्रह गरे।
काठमाडौँको फर्पिङमा जन्मिएका डा. केसी अहिले रुसमा व्यवसाय गर्दै आएका छन्। उनले सन् २०१३ मा केन्द्रीय कोषाध्यक्ष, २०१५ र २०१७ मा दुई कार्यकाल महासचिव, उपाध्यक्ष हुँदै पछिल्लो पटक तीन मध्येका एक अध्यक्ष बनेका हुन्।
डा. केसी अमृत साइन्स क्याम्पसमा अध्ययन गरी उच्च शिक्षा अध्ययनको लागि रुस प्रस्थान पुगेका हुन्। उनी संस्थापक उपेन्द्र महतो, जिवा लामिछानेसँगै एनआरएनए अभियानमा जोडिएका हुन्।
सन् २००३ मा काठमाडौँमा भएको सम्मेलनमा केसीको उपस्थिति रहेको थियो। स्थापनाकाल देखिनै एनआरएन अभियानको एउटा सिपाहीका रूपमा अनवरत क्रियाशील हुन पाएको बताउँदै अग्रजहरूको समर्पण, मैत्री भाव र कार्य कुशलताबाट धेरै कुरा सिक्ने अवसर पाएको उल्लेख गरे।
‘महासचिव हुँदा भारतले नेपालमा नाकाबन्दी गर्दा विश्व स्तरमा विरोधका काम गर्न पाए,’ उनले भने।
अध्यक्षको कार्यकालमा नागरिकता कानुन बनाउन र एनआरएनएलाई ट्र्याकमा ल्याई स्वच्छ निर्वाचन गराउने चरणमा रहेको बताए।
आगामी कार्यकालमा विधानलाई सच्चाउँदै सबै सदस्यले मतदान गर्न पाउने गरी काम गर्ने बताए। फेसियल भेरिफिकेसनको प्रणाली विकास भइसकेकाले पञ्जीकृत सदस्यले मतदान गर्न व्यवस्था गर्ने विश्वास दिलाए।
कोभिड महामारीको समयमा आईएलओसँग सहकार्यगरी विदेशमा अप्ठेरो परेका नेपालीलाई कतिपयलाई टिकट काटेरै पठाएको स्मरण गरे। केसीको उम्मेदवारी घोषणा कार्यक्रम जुममा ८ सय बढी सहभागी रहेका थिए। पदाधिकारी उम्मेदवारले आफ्ना प्रतिबद्धता समेत राखेका थिए।
संघका वर्तमान उपाध्यक्ष डा. हेमराज शर्मा डा. केसीलाई शुभकामना व्यक्त गर्दै आफू पुनः उपाध्यक्षमा उम्मेदवार रहेको जानकारी गराए।
आगामी कार्यकालका लागि उपाध्यक्षका प्रत्याशी रामशरण सिम्खडा, अस्ट्रेलिया बसोबास गर्दै डा विनोद श्रेष्ठले उपाध्यक्ष र क्यानडाबाट चिरनजिवी घिमिरे, जापानबाट रोविन शेरचन, नेदरल्यान्डबाट शशी पौडेल, धर्मराज अधिकारी, अमेरिकाबाट जेदु पोखरेल, मध्यपूर्वबाट सुदिप कार्की प्रत्याशी रहेका छन्। महिला उपाध्यक्षको रूपमा मध्यपूर्वबाट प्रतिनिधित्व गर्ने यस्मिन बेगम सायद र युवा उपाध्यक्षमा रोशन थापा उम्मेदवारी घोषणा गरेका छन्।
हाल महासचिव रही पुनः सोही पदमा उम्मेदवार रहेका गौरीराज जोशीले डा. बन्द्री केसी सबल नेतृत्व रहेको बताए। उपमहासचिवमा अमेरिकामा प्रमोद सिटौला, युरोपबाट प्रतिनिधित्व गर्ने सन्तोष भट्टराई, प्रवीण गुरुङले कार्यक्रममा उम्मेदवारी घोषणा गरे।
कार्यक्रममा अमेरिकाबाट प्रवासी मञ्चका अध्यक्ष सञ्जय थापा लगायतको उपस्थिति थियो।
डा.केसीका मुख्य ९ बुँदे एजेन्डा
संघको अध्यक्षमा विजयी भएसँगै समृद्धि र रूपान्तरणकाको नारा सहित आफ्ना ९ बुँदे एजेन्डामा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रतिबद्धतामा सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीको लागि सम्बन्धित निकायसँग सहकार्य र श्रमिकहरूलाई अभिमुखीकरण तालिम सञ्चालन गर्ने रहेको छ।
‘विदेशको श्रम बजारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउन पहल गरिनेछ,’ उनी भन्छन्,‘सामाजिक सुरक्षा कोषमा सहभागी भई वैदेशिक रोजगारीमा आएका श्रमिकलाई योगदानको निरन्तरताको लागि श्रम गन्तव्य मुलुकका नेपाली समक्ष सहजीकरण गरिने छ।’
वैदेशिक रोजगारीमा जाने नेपालीको न्यूनतम तलब अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउन पहल गरिने छ। श्रम स्वीकृति नवीकरण, वीमा नवीकरण तथा श्रम सम्बन्धित अन्य समस्या समाधानका लागि विदेशबाटै अनलाइन मार्फत गर्ने सहजीकरण गर्ने प्रतिबद्धता रहेको छ।
नेपालमा लगानी बढाउँदै एनआरएनए नेपाल डेभलपमेन्ट फण्ड कार्यान्वयन गर्ने बताए। डेभलपमेन्ट फन्डलाई १० अर्ब रुपैयाँ रहेकोमा फन्डलाई आगामी दिनमा बढाइने प्रतिबद्धता रहेको छ।
‘नेपालमा लगानीको क्षेत्र पहिचान गरी सुरक्षित लगानी प्रवर्द्धनका लागि नेपाल सरकार सँग सहकार्य गर्ने छौँ,’ केसी भन्छन्,‘लगानी आकर्षण गर्न दोहोरो कर छुट सम्बन्धी सम्झौता गर्न पहल गर्ने छु।’
संस्थागत पुनर्संरचना एवं सुदृढीकरण गर्न एनआरएनएको परिभाषा नै परिवर्तन आवश्यक रहेको बताए। गैर आवासीय नेपाली ऐनमा विद्यार्थी र २ वर्ष बसेपछि मात्रै सदस्य बन्न पाउने अवस्था रहेको छ। यसलाई १८३ दिनभन्दा बढी विदेशमा बस्नेलाई परिभाषामा समेटिन छ।
ऐनमा परिभाषा स्पष्टतासँगै नागरिकतामा उल्लेख गरिएको सांस्कृतिक, व्यवसायीक र सामाजिक अधिकार स्पष्ट पार्ने बताए। ३ पुस्ताअघि थाइल्यान्ड, म्यानमारमा पुगेका नेपालीलाई गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था गर्नुपर्ने सुनाए।
आगामी कार्यकालमा १० लाख पञ्जीकृत सदस्य बनाउने लक्ष्य रहेको बताए। गैर आवासीय नेपालीका हक हित अधिकारमा मतदानका अधिकार, सम्पत्ति सुरक्षा, दूतावास विस्तार नभए कन्सुलेट कार्यालयको व्यवस्था गर्न पहल गर्ने उल्लेख छ। भूपुगोर्खाहरुले उठाउँदै आएका समान पेन्सन र अधिकारको मागलाई पूरा गर्न संस्थागत पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
राष्ट्रिय समन्वय परिषद्बाट निर्वाचित अध्यक्षलाई नेपाल सरकारको अवैतनिक वाणिज्य दूतको रूपमा मान्यता दिन पहल गर्ने बताएका छन्।
गैर आवासीय नेपाली राष्ट्रिय परिषद् कल्चरल सेन्टरको रूपमा विकास गर्नुपर्ने बताए। हार्वर्ड, अक्सफोर्ड विश्वविद्यालय अध्यायपन गराउने नेपालीलाई प्राज्ञिक बहस मार्फत नेपालमा प्रविधि र सिप हस्तान्तरण गरिने उल्लेख गरे। ज्ञान तथा विज्ञ सम्मेलनलाई निरन्तरता दिँदै नेपाल पोलिसी इन्स्टिच्युटलाई दक्षिण एसियाली स्तरको थिंक ट्याङ्कका रूपमा अगाडी बढाउने उल्लेख गरेका छन्।
एनआरएनए फाउन्डेसन मार्फत दातृ निकायसँग सहकार्य गर्ने र नेपाल बाहिर स्थापना गर्ने रहेको छ।
अन्तर्राष्ट्रिय समुदायसँग जोड्ने पुलको रूपमा गैर आवासीय नेपाली संघ मार्फत नेपालमा पर्यटक पठाउन सकिने बताए। नेपालबाट निर्यात हुने समानमा विकसित देशहरूमा भन्सार छुटको सदुपयोग गर्ने जनाएका छन्।
युवा र महिलालाई एकजुट रूपमा नेपालसँग जोड्न विशेष कार्यक्रम बनाई वार्षिक क्यालेन्डर समेटिने एनआरएनए यूथ समिट, अन्तर्राष्ट्रिय महिला सम्मेलन गरी युवा र महिलालाई जोड्ने बताए। विदेशमा खेलकुदमा सफलता प्राप्त गरिरहेका खेलाडीलाई नेपालीसँग जोड्दै व्यवसायीक बनाउने योजना राखेका छन्।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठनसँग गरिएका सम्झौतालाई कार्यान्वयन गर्दै संयुक्त राष्ट्रसङ्घ सँग सम्बन्ध बढाउने बताए।













