को हुन त भारतीयमूलका अमेरिकी राष्ट्रपतिका उम्मेदवारको चर्चामा रहेका विवेक र निकी?

पेन्सलभेनिया । अमेरिकी राजनीति यतिखेर निकै तातिएको छ । रिपब्लिकन पार्टीका हस्तीहरू आम निर्वाचन २०२४ को राष्ट्रपतीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार बन्नका लागि रस्साकस्सी गर्दै छन् । सोही पार्टीका बलिया प्रत्याशी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प मुद्दा मामिलाको झमेलामा छन् ।
सत्तारुढ डेमोक्रयाटिक पार्टीबाट भने बहालवाला राष्ट्रपति नै दोस्रो कार्यकालको लागि उम्मेदवार हुने प्राय निश्चित देखिन्छ । यसो त अहिले रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका उम्मेदवारका लागि दावेदारी प्रस्तुत गर्ने दुई उम्मेदवार भने भारतीय मूलका रहेका छन् । एक हुन साउथ क्यारोलाइनाकी निकी हेली अर्का हुन ओहायोमा जन्मेका विवेक रामाश्वामी ।
को हुन त विवेक रामाश्वामी?
दक्षिण भारतीय हिन्दु आमाबाबाट अमेरिकाको ओहायोमा जन्मेका ३८ वर्षीय युवा व्यवसायी तथा लेखक हुन विवेक रामाश्वामी । उनले विद्यालय स्तरीय शिक्षा भने क्याथलिक स्कुलबाट लिएका थिए । उनी विद्यालयमा निकै उत्कृष्ट विद्यार्थीका रूपमा चिनिन्थे । उनले उच्च शिक्षा भने विश्वकै उत्कृष्ट विश्वविद्यालयहरूबाट लिए ।
हार्वर्ड विश्वविद्यालयबाट बायोलजी र याल विश्वविद्यालयबाट कानुनमा दीक्षित विवेक पेसाले भने फर्मास्युटिकल व्यवसायी हुन् । राजनीतिमा आउनु पूर्व उनी फर्मास्युटिकल कम्पनीको सिइयो थिए । उनी धनाढ्य युवा मल्टिमिलेनियरका रूपमा पनि परिचित छन् ।
सन् २०२१ मा उनले “वोक, इन्क” नामक पुस्तक प्रकाशन गरे सँगै उनको चर्चा अमेरिकी राजनीतिमा हुन थाल्यो । सोही पुस्तकको चर्चा सँगै उनी अमेरिकी राजनीतिको “राइट विग्स पोल्टिक्स” मा निकै प्रभावशाली हुँदै गएको देखिन्छ । उनी “एन्टाई वोक दर्शन” को कठोर समर्थक का रूपमा चिनिन्छन् । केही विश्लेषकहरू उनी पूर्व राष्ट्रपति ट्रम्प भन्दा पनि कडा “राइट विग्स पोल्टिक्स” का समर्थक भन्छन् ।
गत हप्ता सम्पन्न रिपब्लिकन पार्टीको प्रेसिडेण्टियल डिबेटमा उनले ब्यक्त गरेका केही कुराहरूको अहिले निकै चर्चा हुन थालेको छ । उनले डिबेटमा आफू राष्ट्रपति चयन भए शिक्षा विभाग तथा एफ.वि.आई जस्ता संस्थाहरूको खारेजी गर्ने भन्ने तर्कहरूको विषयहरूमा भने अहिले निकै चर्चामा छन् । विविधतालाई अमेरिकाको शक्ति मान्ने विवेक “जातियता रहित प्रतिभा” को विषयमा वकालत गर्दछन् ।
आप्रवासी मुद्दा, जलवायु परिवर्तन, फसल फ्यूल, एवम् अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनमा अमेरिकाको भूमिका-सहायता को बारेमा उनी पूर्व राष्ट्रपति ट्रम्प भन्दा पनि अनुदार देखिन्छन् । यही कारण कन्जरभेटिभ्स अमेरिकन तथा बेबी बुम्रर्स अमेरिकन बिच उनको लोक प्रियता बढ्दो देखिन्छ ।
एवीसी न्युजको पछिल्लो पोल रेटिङ अनुसार विवेक ट्रम्प र डी सान्टिस भन्दा पछि छन् । अगस्ट २५ को पोल अनुसार ५२ प्रतिशत अङ्क सहित सबै भन्दा अगाडी ट्रम्प छन् भने फ्लोरिडाका गभर्नर डी सान्टिस १४ दशमलव ७ प्रतिशत सहित दोस्रो स्थानमा छन् भने विवेक ९ दशमलव ९ प्रतिशत सहित तेस्रो स्थानमा छन् । पूर्व उप राष्ट्रपति पेन्स ४ दशमलव १ प्रतिशत सहित चौथोमा छन्। त्यसो त, एकातर्फ आप्रवासीको निकै कलिलो पुस्ता अर्कोतर्फ जन्मजात हिन्दू धर्म यी दुई कारणले भने उनको ह्वाइट हाउस सम्मको यात्रा त्यति सहज भने देखिँदैन । तथापि पूर्व राष्ट्रपति ट्रम्प उम्मेदवार नभएको अवस्थामा विवेकले बाजी मार्न सक्छन् भन्दा फरक भने नपर्ला ।
को हुन त निक्की हेली?
दक्षिण पश्चिम भारत अर्थात् पन्जाबी आमाबुबाबाट साउथ क्यारोलाइनामा जन्मेकी ५१ वर्षीय राजनीतिज्ञ हुन निकी हेली । उनको जन्मको नाम नम्रता निकी रनधवा हो । सन् १९९६ मा आर्मी अफिसर माइकल हेली सँग उनको विवाह भए पछि, निकी हेली भइन् । निकै कन्जरभेटिभ्स मान्यता राख्ने निकी सन् २००५ देखि अमेरिकी राजनीतिमा सक्रिय छिन् ।
साउथ क्यारोलाइनाको लेक्जिण्टको प्रतिनिधित्व गर्दै स्टेट हाउसको प्रतिनिधिको रूपमा २००५ देखी २०११ मा कार्य सम्पादन गरे पछि निक्की २०११ साउथ क्यारोलाइनाको गभर्नरमा चुनिँदै २०१७ सम्म जिम्मेवारी वहन गरिन। त्यसो त राष्ट्रपति ट्रम्पको कार्यकालमा संयुक्त राष्ट्रसङ्घको लागि अमेरिकाको एम्वेसडर को रूपमा २०१७-२०१८ काम गरी सकेकी छिन् ।
सो जिम्मेवारीमा रहँदा उनले इजरायल, उत्तर कोरिया, रसिया र सिरिया प्रति झन्डै झन्डै ट्रम्प जस्तै कठोर नीति लिएकी थिइन । यसर्थ पनि रिपब्लिक माझ उनी लोकप्रिय मानिन्छिन् । त्यसो त रिपब्लिकन राजनीतिमा निकै अनुभवी मानिने मध्ये की एक हुन निक्की हेली ।
“अबको समय नयाँ पुस्ताको नेतृत्वको हो,” भन्दै उनले आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गरिसेकेकी छिन् ।उत्तर कोरियाको आणविक हतियारको विषयमा होस या सिरिया युद्धमा आणविक हतियारको प्रयोग भएको विषयमा हेलीको नीति निकै आक्रामक थियो । सिरियालाई आणविक हतियार प्रयोग गर्न प्रोत्साहन गरे रसिया माथि अमेरिकाले प्रतिबन्ध सम्म लाउन सक्ने चेतावनी हेलीले त्यो बेला दिएकी थिइन् ।
अमेरिकामा हाल चर्चामा रहेको गर्भपतनको नीति प्रति हेली अनुदार छिन् । आप्रवासको नीतिमा आमूल सुधार गर्नु पर्ने मान्यता राख्ने हेली खुला सिमाना प्रति कठोर रहँदै आएकी छिन् । कर नबढाउने तर राष्ट्रिय ऋण घटाउने नीति उनको आर्थिक नीति छ । उनको सरकारी खर्चमा कटौती गर्दै राष्ट्रिय ऋण घटाउने नीति छ । उनको नीति र नेतृत्व प्रति रिपब्लिकन भित्र मात्रै होइन इन्डिपेनडेण्ट भोटरहरू पनि आशावादी छन् ।
महिला उम्मेदवार तथा अश्वेत महिला आदी जस्ता कारणले उनको ह्वाइट हाउस सम्मको यात्रा सहज भने देखिँदैन । पछिल्लो एवीसी न्युजको पोल अनुसार उनी ३ दशमलव ८ प्रतिशत अङ्क सहित रिपब्लिकन उम्मेदवार बिच पाँचौँ स्थानमा छिन् ।