माउन्ट केटुको सफल आरोहण गर्ने एकै परिवारका चार दाजुभाई सम्मानित

काठमाडौं । संसारको दोस्रो अग्लो हिमाल माउन्ट केटुको सफल आरोहण गर्ने एकै परिवारका चार दाजुभाइलाई सरकारले सम्मान गरेको छ ।
मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच सरकारले संखुवासभाका सफल आरोही दाजुभाई मुक्तु शेर्पा, निङ्मा दोर्ची शेर्पा,पेचुम्बे शेर्पा र आङदावा शेर्पालाई कदर पत्र र खादा ओडाएर सम्मान गरेको हो ।
उनीहरु चारै जनाले गत जुलाई २७ मा आठ हजार ६ सय ११ मिटर उचाईको माउन्ट केटुको सफल आरोहण गरेर नेपालबाट मात्र होइन विश्पमै एकै परिवारका चार जनाले पहिलो पटक आरोहण गरेको कीर्तिमान बनाएका थिए ।
नागरिक उड्ययन तथा पर्यटन मन्त्री सुदन किराँतीले कीर्तिमानी आरोही चार दाजुभाइलाई नेपाल र नेपालीको नामलाई विश्वसामु पुन चिनाएको भन्दै प्रसंशासहित बधाई दिए ।
उनले भने, ‘एकै घरपरिवारको चार जना दाजुभाई संसारको दोस्रो अग्लो अप्ठ्यारो हिमाल पनि भन्छन् (माउण्ट केटु) त्यो चढेर आउनुभयो । तपाइँहरुले यो देशको इज्जत फेरि राखिदिनुभयो । संसारमा फेरि नेपाललाई चिनाईदिनु ÷ब्युझाइदिनु भएको छ, तपाइँहरुलाई धेरै धेरै धन्यवाद र बधाई ।’
कार्यक्रममा आरोहीको प्रतिनिधिको रुपमा बोलेका आङदावा शेर्पाले हिमाल आरोहण पछि नेपाल आउँदा सरकारको उपस्थिति नदखिएको भन्दै गुनासो गरे । तर, उनले आज राज्यले सम्मान गरेकोमा खुसी व्यक्त गरे ।
‘हामीले जतिखेर यो विश्व रेकर्ड बनाएर एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सात जना आएका थियौं । हामी सात जना विमानस्थलबाट बाहिर निस्किदा विश्वको यो नै पहिलो रेकर्ड रहेछ । एकै देशको सात जनाले एकैपटक आरोहण गरेर विश्व रेकर्ड बनाएको पहिलो रहेछ । सातै जना वल्र्ड रेकर्ड बनाएर विमानस्थलबाट बाहिर आउँदा खेरि सरकारको कोही पनि देखा परेनन् । यो सरकारको कमजोरी भन्न पर्ला । आज खुसी लागेको छ,’ आङदावाले भने।
प्रत्युत्तरमा मन्त्री किराँतीले आफु आरोहीलाई विमास्थलमा विशेष कारणले जान नसकेको भन्दै आरोहीले दिएको सुझावलाई ग्रहण गरेको र कानून बनाएरै त्यसलाई सम्बोधन गर्न लागेको आश्वासन दिए ।
‘यस्तो खालको कीर्तिमानी गर्ने आरोहीहरुलाई राज्यको तर्फबाट हामी के गर्न सक्छौ छलफल गर्दै छौं । यो सम्मान गर्ने विषयलाई कानूनमै व्यवस्थित गर्न पाए म भइन्जेल गर्ने अनि अर्को आएपछि नगर्ने हुन्छ । कानूनमै व्यवस्था गर्दिएपछि त जो आएपनि गर्न पर्ने हुन्छ । त्यसकारण कानूनबाट नै यो कुरा स्थापित गर्दिन पाए राम्रो हुन्थ्यो भनेर हामी लागेका छौ,’ किराँतीले भने ।