एनआरएनहरुको लगानी विवादमा, अध्यक्ष सुवेदी भन्छन् ‘छानविनकालागि तयार छौं’

पेन्सिलभेनिया । गैर आवासीय नेपाली संघका अभियन्ताहरु जोडिएको रुपन्देहीमा रहेको पाँचतारे होटेल ‘टाइगर रिसोर्ट’ विवादमा तानिएको छ । एनआरएन अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदी, आईसीसी वर्तमान महासचिव डा. केशव पौडेल लगाएतहरुले हालै देशबाहिर किनबेच गरेको भन्दै विवादित बनेको छ ।
उक्त होटेल कारोबार यथास्थानमा राख्नू भनी जिल्ला अदालत रूपन्देहीको आदेश, उच्च अदालत, तुलसीपुरमा अर्को मुद्दा विचाराधीन र मालपोत कार्यालयले जग्गा रोक्का राखेको अवस्थामा विदेशमै किनबेच भएको हो ।
बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिको स्वामित्वमा रहेको उक्त होटल अमेरिकास्थित गैरआवासीय नेपालीको कम्पनी नेपोलियन टाइगर इन्भेस्टमेन्ट (एलएलसी) ले किनेको स्रोतलाई हवाला दिएर कान्तिपुर दैनिकले खबर लेखेको छ ।
उक्त होटल ५ अर्ब रुपैयाँमा किनबेच भएको एलएलसी कम्पनीका अध्यक्ष बुद्धिसागर सुवेदीले बताउने गरेका छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१३ मा क्यासिनोसहितको उक्त होटल स्वदेशमा खरिदबिक्री गर्न नमिलेकाले विदेशमा कारोबार भएको अध्यक्ष सुवेदीले बताए । उनले भने ‘ हामीले कुनै पनि गैरकानुनी काम गरेका छैनौं । छानविनमा छ भनिएको छ, छानविन होस्, हामी त्यसका लागि तयार छौं ।’
रिसोर्टमा प्राइम बैंकको २ अर्ब ५० करोड र विदेशी लगानीकर्ताको २ अर्ब ५० करोडसहित पाँच अर्ब रुपैयाँ लगानी रहेको छ । झण्डै ८ सय जनालाई रोजगारी दिएको रिसोर्टमा अहिले बन्द अवस्थामा रहेको छ ।