३ बर्षमा ३ पटक समय थप्दा पनि ४ सय ५० मिटर सडक बनेन,पेडारीवासी हैरान

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ७ पेडारी गाउँमा सडक निर्माणमा ढिलाई हुँदा स्थानीयलाई सास्ती खेप्नुपरेको छ । ठेक्का लिएको कम्पनीले सडक निर्माणमा ढिलाई गर्दा स्थानीयले सास्ती खेप्नु परेको हो ।
लामो समयसम्म पनि सडक निर्माणमा ठेकेदार कम्पनीले सडक निर्माणमा आनाकानी गर्दा स्थानीयलाई हिड्डुल गर्न गाह्रो भएको स्थानीयको गुनासो छ ।
सडक निर्माणको लागि ठेक्का पाएको बिएलएल निर्माण कम्पनीले ३ पटक समय थप्दा पनि सडक निर्माणको कार्य पूरा गर्न नसकेको स्थानीय दीपक थारुले बताए ।
उनले भने ‘ ठेक्का पाएको कम्पनीको लापरवाहीले गर्दा हामीलाई एकदम सास्ती खेप्नुपरेको छ, समय थपेको थप्यै छ हामी जस्तो सोझा सीधा जनतालाई भने बाटोमा हिडडुल गर्न, उपचार तथा सवारीसाधन चलाउन एकदम गाह्रो भैरहेको छ । ’
३ बर्ष पहिले नै सडक निर्माणको कार्य सम्पन्न हुनुपर्ने हो तर ठेकेदार र स्थानीय पालिको लापरवाहीले सडक निर्माणमा ढिलाई भएको स्थानीय राधेश्याम थारुको आरोप छ । वडाको बजेटबाट निर्माण हुन लागेको सडक ठेकेदार कम्पनीले वास्ता नगर्दा आम जनतालाई दुःख खेप्नु परेको उनको गुनासो छ ।
विरामी पर्दा एम्बुलेन्स आउन नसक्ने स्थिति रहेको उल्लेख गर्दै उनले भने , उपचार गर्न वा अटोरिक्सा चल्न र हिड्न सक्दैन बल्ल बल्ल मोटरसाइकल गुड्छ, मोटरसाइकल र साइकलमा कतिपटक मेरै आँखा अगाडि मान्छे लडेको देखेछु, चोटपटक लागेर विरामी समेत भएका छन् यसको जिम्मा कस्ले लिने ? ’
स्थानीय तहका जनप्रतिनिधिलाई खबर गर्दा अहिले आउने र कामको प्रक्रिया अगाडि बढाउने भन्ने गरे पनि कार्यन्वयन नगर्ने गुनासो स्थानीय भरत कुमार थारुको छ । छिटो सडक निर्माणका लागि पालिकामा डेलिगेशन गयो तर पनि सुनवाई नभएको पनि भरतले बताए ।
उनले भने ‘ पालिकाले ३ दिनभित्र काम अगाडि बढाउने आश्वासन दियो तर कार्यन्वयन गर्न सकेन, काम गरेजस्तो गर्ने तर एकछिन मै भाग्ने गरेका छन्,
४५० मिटर सडक निर्माण गर्न ३ बर्ष बढि समय लाग्यो अझ बनेन स्थानीयलाई सास्ती कहिलेसम्म स्थानीयले गुनासो गर्ने ।’
स्थानीय निवर्तमान जनप्रतिनिधि वडा सदस्य गोपाल थारुले ३ बर्षमा ३ पटक समय थप्दा पनि निर्माण कार्य अपुरो भएको र खाली जनतालाई आँखामा छारो हाल्ने जस्तै कार्य मात्र भएको बताए ।
उनले भने ‘ हाम्रो पालामा बजेट विनियोजन भयो अहिले हामी निवर्तमान भयौं, ठेकेदार कम्पनीले एकछिन डोजर लिएर काम गरेजस्तो गर्ने र भाग्ने गरेको छ, ३५ लाख बजेट रहेको सडक निर्माण अझै अपुरो छ, ३ बर्षमा ४५० मिटर बाटो कालोपत्रे हुनुपर्नेमा १ मिटर पनि कालो पत्रे बन्न सकेन, बर्खायाममा झनै हिड्न सकिन्न कहिलेसम्म यस्तो सास्ती बेहोर्नु पर्छ । ’
बैजनाथ गाउँपालिका वडा ७ पेडारीका वडाअध्यक्ष दिनेश थारुले भने ठेकेदारलाई सडक निर्माणको कामलाई छिटो अगाडि बढाउनुस भन्दा नसुने झै गरेको बताए । धेरै जसो निर्माण कम्पनीको जिम्मेवार व्यक्तिले फोन नउठाउने गरेको वडा अध्यक्ष उनको भनाइ छ ।
यता बिएलएल निर्माण कम्पनीका गोपाल आचार्य ०७७ जेठमा सम्झौता भएको सडक निर्माण बारे पालिकाले निर्णय नगर्दा ढिलाई भएको दावी गर्छन ।
उनले भने ‘ हामीले ग्राभेल हालेको ठाउँमा पालिकाले अर्को नाली निर्माणको सम्झौता ढिलाई गर्दा र नाली निर्माण गर्दा ग्राभेल हालेको ठाउँमा नाली निर्माण हुँदा समस्या बल्झिएको हो । तेश्रो पटकको सम्झौताको म्याद पनि ०८० असार १५ गते सकिएपनि काम अझै हुन सकेको छैन् । ’
यस्तै बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले भने ठेक्का पाएको कम्पनीबारे नियमसंगत कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढेको बताए ।
उनले भने ‘ काम राम्रोसंग नगर्ने र ढिलाई गर्ने कम्पनीको लिस्ट तयार हुदैछ, कानुन अनुसार प्रक्रिया अगाडि बढेको छ अब त्यस्ता कम्पनीलाई कालो सूचीमा राख्ने पालिकाले निर्णय गरेको छ । पेडारीको सडकको लागि बारम्बार तोकता गर्दा पनि निर्माण कम्पनीले चासो नदिदा अव कालो सूचीमा राख्नु बाहेक अर्को विकल्प छैन् ।