ओलम्पियन दीपक विष्ट र आयुषा शाक्यलाई अमेरिकामा एभरेष्ट तेक्वान्दोको सम्मान

बाल्टिमोर,मेरील्याण्ड / परिवार सहित अमेरिका भ्रमणमा रहेका ओलम्पियन तेक्वान्दो खेलाडी दीपक विष्ट र उनी धर्मपत्नी तेक्वान्दो खेलाडी आयुषा शाक्यलाई कदर पत्र सहित सम्मान गरिएको छ।
एभरेष्ट वल्ड क्लास तेक्वान्दोले आइतवार मेरील्याण्ड राज्यको बाल्टिमोरमा एक कार्यक्रममा बीच विष्ट दम्पत्तिको सम्मान गरेको हो।
एभरेष्ट तेक्वान्दो नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका संस्थापक महासचिव तथा ग्राण्ड मास्टर कुमार कार्कीले स्थापना गरेको स्कूल हो।
नेपाली मुलका पहिलो अमेरिकी सभासद डा. ह्यारी भण्डारीले विष्ट दम्पतिलाई कदर पत्र सहित सम्मान गरे। यस्तै लामो समय देखि मेरील्याण्डमै बस्दै आएका राष्ट्रिय भलिवल टिमका पूर्व कप्तान सुनील चौधरीले खादा लगाएर उनीहरुको सम्मान गरेका थिए।
विष्ट दक्षिण एशियाली खेलकुद सागमा नेपालका लागि कीर्तिमानी चार स्वर्ण जित्ने एक्लो नेपाली खेलाडी हुन्। यस्तै दोहा एशियाडमा कास्य पदक जितेका विष्ट ओलम्पिक खेल्ने खेलाडी पनि हुन्। उनले सन् २००८ मा चीनको बेइजिङ्गमा भएको ओलम्पिकमा भाग लिएका थिए। आयुषा पनि १३ सागमा दोहोरो स्वर्ण जित्ने खेलाडी हुन्।
सम्मान पछि बोल्दै विष्टले नेपाली तेक्वान्दोकर्मीले अमेरिकामा पनि खेलकुद गतिविधिलाई निरन्तरता दिएकोमा आफूलाई खुसी लागेको बताए। ‘अमेरिकामा रहेर पनि खेलुकदलाई निरन्तरता दिनु भएको छ, देशको नाम राख्नु भएको छ। खेलाडीलाई माया गर्नु भएको छ, त्यसको उच्म मूल्याङकन गर्न चाहान्छु।’ विष्टले भने।
उनले देशको राजनीतिक अवस्थाले नेपाली खेलकुदले सोचे जस्तो सफलता नपाएको बताए। ‘दोहा पछि एशियाडमा अहिले सम्म तेक्वान्दोमा मेडल आएको छैन, यसले पनि नेपालको खेलकुद कता जाँदै छ भन्ने भएको छ।’ विष्टले भने, ‘नेपाली खेलकुदमा अझै पनि राजनीति नै हावी छ। अहिले पहिलाको जस्तो क्लोज क्याम्प हुन सकेको छैन।’
विष्टले देशको स्थिति पनि नाजुक छ भन्ने गरिएको र खेलकुदले प्राथमिकता पाउन नसकेको बताए।
यस्तै आयुषाले दीपक जस्तो श्रीमान पाएकाले विवहा पछि पनि आफुले खेलाडी जीवनलाई निरन्तरता दिन सकेको बताइन।
‘खेलुकदमा लागेका महिलाहरुलाई धैरै गाह्रो हुन्छ विवहा र पछि बच्चा भए पछि, तर उहाँ (दीपक) को साथ सहयोग र मायाले म यहाँ सम्म पुगेको छु।’ आयुषाले भनिन्, ‘म भाग्यमानि छु, म भगवानलाई धन्यवाद दिन चाहान्छु यस्तो श्रीमान दिनु भयो र उहाँ पनि भाग्यमानि हो म जस्तो श्रीमती पाउनु।’
सम्मान कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका पूर्व सदस्य तथा राष्ट्रिय भलिवल टिमका पूर्व कप्तान सुनील चौधरी, प्रवासी नेपाली मञ्च अमेरिकाका निर्वतमान अध्यक्ष तथा पूर्व कराते खेलाडी प्रभु थापाले विष्ट दम्पतिलाई बधाई दिएका थिए।
यसै गरि डेलिगेट ह्यारी भण्डारीले पनि कीर्तिमानी खेलाडी विष्टको सफलताको प्रसंसा गरेका थिए। सम्मान कार्यक्रमकै बीच दीपक र उनका जेठा छोराको जन्मदिन मनाइएको थियो।
दीपकले ४६ औ र उनका छोराले दशौ जन्मदिन मनाएका हुन्। कार्यक्रममा मेरील्याण्ड र पेन्सिलभेनियामा क्रियाशिल तेक्वान्दो प्रशिक्षकहरुको सहभागिता रहेको थियो।
सोही कार्यक्रममा ईनास अमेरिकाको तर्फबाट पेन्सिलभेनिया च्याप्टरका अध्यक्ष तेक्वान्दोकर्मी बिकास घले गुरुङले विष्ट दम्पतिलाई मायाको चिनो प्रदान गरेका थिए।