एनआरएनए अमेरिका निर्वाचन: उमेदवारको मनोनयन शुरु
पेन्सिलभेनिया,अमेरिका/ गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आसन्न निर्वाचनका लागि मंगलवार विहान देखि उमेदवारको मनोनयन शुरु भएको छ।
एनसीसी अमेरिका निर्वाचन आयोगले उमेदवारीको मनोनयन मंगलवार विहान (जुन २७ तारिक) आठ बजे (पूर्वीय समय) बाट खुल्ला गरेको हो। आयोगका अनुसार बुधवार मध्यरात (जुन २८ तारिक पूर्विय समय) सम्म उमेदवारी दिन पाइने छ।
निर्वाचन आयोगले जुलाई २२ र २३ तारिकलाई मतदानको दिन तोकेको छ।
आयोगले जारी गरेको सूचना अनुसार एनसीसी अमेरिकामा अध्यक्ष सहित २७ पदका लागि निर्वाचन हुने छ।
एनआरएनए अमेरिकामा एक अध्यक्ष, एक बरिष्ठ उपाध्यक्ष र ६ उपाध्यक्ष रहने व्यवस्था छ। उपाध्यक्षमा महिला र युवा समावेस छन्।
यस्तै महासचिव, सचिव (खुला), सचिव (महिला) ,कोषाध्यक्ष, संयुक्त कोषाध्यक्ष, युवा संयोजक, महिला संयोजकमा एक एक पदका लागि निर्वाचन हुने छ।
बोर्ड सदस्य १२ पदमा निर्वाचन हुने छ। जसमा चार जना महिला पद रहेको छ।
निर्वाचन आयोगले क्षेत्रीय समिति, च्याप्टर र आइसीसी सदस्यमा पनि मनोनयन खुल्ला गरेको छ। उमेदवारी अनलाइनबाट दाखिला गर्नु पर्ने छ। अध्यक्षका लागि ३५ सय, बरिष्ठ उपाध्यक्षका लागि तीन हजार र उपाध्यक्ष र महासचिवका लागि २५ सय अमेरिकी डलर उमेदवार शुल्क निर्धारण गरिएको छ। बोर्ड सदस्यका लागि एक हजार डलर शुल्क तोकिएको छ। मनोनयन शुल्क फिर्ता नगरिने आयोगले जनाएको छ।
यस्तै च्याप्टरमा अध्यक्ष,उपाध्यक्ष, महिला उपाध्यक्ष,सचिव,महिला सचिव, कोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा एक एक पदका लागि निर्वाचन हुने छ। यस्तै च्याप्टर बोर्ड सदस्यमा सात पदका लागि चुनाव हुने छ।
क्षेत्रीय समिति संयोजक (आरसीसी) उत्तर-पूर्वी, मध्यपश्चिम, दक्षिण र पश्चिम गरि एक एक पदका लागि चुनाव हुने छ।
आइसीसी सदस्यमा आठ पदमा चुनाव हुने छ। यस पटक १५ हजार तीन सय ६६ जना सदस्य मतदानका लागि योग्य छन्। जसमध्ये आजीवन सदस्यको संख्या २४ सय ६२ रहेको छ।
एनसीसी अमेरिकाको अध्यक्ष पदमा डिलु पराजुली, अर्जुन बञ्जाडे र सुमन थापाले उमेदवारी घोषणा गरेका छन्।
















