युवा पलायनलाई रोक्न नेपालमै औद्योगिकीकरण अभियान सञ्चालन गरिने : महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले रोजगारीका लागि विदेश पलायन हुने नयाँ पुस्ताको क्रम रोक्न युवा संघ नेपालले देशमै औद्योगिकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बस्नेतले शिक्षा,स्वास्थ्य र रोजगारीको अवसरको अभावमा युवाहरुको राजनीतिप्रति चासो हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले युवा पुस्तालाई विदेशमा श्रमिकको रुपमा पलायन हुनबाट रोक्न नेतृत्व विकास गर्ने जिकिर गरे ।
उनले भने, ‘तपाईं युवाहरुलाई अब युवा संघ नेपालले नेतृत्व र व्यक्तित्व विकास गर्न,सिकाउँछ,सीपमूलक तालिमहरु दिन्छ,अनि नेपालमै रोजगारीको वातावरण सृजना गर्न यही औद्योगिकीकरण अभियान चलाएर श्रमिकलाई विदेशमा पठाउने कुरालाई क्रमश रोक्दै उत्पादनलाई विदेशमा पु¥याउने कुरामा युवा संघ नेपाल लाग्नेछ ।’
बस्नेतले मातृभूमिमै युवा पुस्तालाई काममा लगाउने गरि तयार गर्ने जिकिर गर्दै नयाँ पुस्तालाई राजनीतिप्रति आकर्षण गर्न युवा पुस्ताको सिप विकास गर्न लागेको उल्लेख गरे ।
उनले नयाँ पुस्तामा स्वास्थ्य,शिक्षा र रोजगारीको क्षेत्रमा देखिएका यावत समस्याका कारण युवा पुस्ता राजनीतिप्रति आकर्षित हुन नसकेको भन्दै यो पुस्ताले राजनीतिप्रति चासो राख्ने कि नराख्ने सन्दर्भमा बहस नै राजनीतिक दलले चलाउनुपर्ने बताए ।
बस्नेतले भने, ‘युवा पुस्ताले राजनीतिमा चासो राख्नेकि नराख्ने भन्ने बहस अब तपाईंहरुको पुस्स्ताको बीचमा हामीले चलाउनुपर्ने छ । नयाँ पुस्ताले राजनीतिमा चासो राखेपनि नराखे पनि राजनीतिले तपाईंहरुलाई चासो राखिरहन्छ ।’
त्यस्तै बस्नेतले गठबन्धन सरकारले नेतृत्व लिएपछि देशमा खाद्यान्न र पेट्रोलियम पदार्थमा पाँच गुणासम्म मूल्य वृद्धि भएको प्रति आक्रोश पोख्दै उत्पादनमुखि क्षेत्रमा युवा श्रम र सिपलाई लगाउनुपर्ने उल्लेख गरे ।















