बानाको अठारौं साधरण सभा : बजेट साँढे दुई लाख डलर,५२ कार्यक्रम
बाल्टिमोर,मेरील्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेपालीज् इन अमेरिका (बाना) ले पछिल्लो एक वर्षमा साँढे दुई लाख अमेरिकी डलर खर्च गरेको जनाएको छ।
बाल्टिमोरमा आइतवार सम्पन्न १८ औं साधारण सभामा कोषाध्यक्ष पार्वती सिंह रिचा द्वारा प्रस्तुत बार्षिक आर्थिक प्रतिवेदनमा दुई लाख ५५ हजार आठ सय ५२ अमेरिकी डलर तीन सेन्ट आयव्यय विवरण पेश गरिएको हो।
बानाको सबै भन्दा धेरै आम्दानीको स्रोत अनुदान भएको उल्लेख छ। बानाले काउन्टीबाट एक लाख २५ हजार डलर पाएको छ। यस्तै दोस्रो ठूलो चन्दाबाट ६७ हजार सात सय ५२ डलर बानाले प्राप्त गरेको कोषाध्यक्षमा उल्लेख छ।
यस्तै सदस्यता शुल्कबाट बानाले ४६ हजार चार सय ७० डलर आम्दानी गरेको छ। उमेदवार मनोनयन शुल्काबाट दश हजार पाँच सय ५० डलर बानाले आम्दानी गरेको छ।
बानाको सबै भन्दा ठूलो खर्च भवनमा देखिएको छ। बानाले एक लाख भन्दा बढी रकम विभिन्न शिर्षकमा भवनका लागि खर्च गरेको छ। यस्तै गरि विभन्न कार्यक्रम शिर्षकमा खर्च देखाइएको छ।
बानाको आम्दानी खर्च विवरण
यसैगरी साधरण सभामा महासचिव सागर घिमिरेले प्रस्तुत गरेको प्रतिवेदनमा निर्वाचन पछि ५२ कार्यक्रम गरिएको उल्लेख छ।
महासिचव घिमिरेले अमेरिकाका लागि नेपालका नवनियुक्त राजदुतसँगको भेटघाट, अमेरिकन रेडक्रस,पीडीआरसी इन्टरनेश्नल सँगको सहकार्यमा रक्तदान,स्वास्थ सँग सम्वन्धी कार्यक्रम खेलकुद कार्यक्रमलाई आफ्नो प्रतिवेदनमा राखेका छन्।
यस्तै सडक महोत्सव,सांस्कृतिक कार्यक्रम, भाषा कार्यक्रमलाई पनि महासचिव घिमिरेले प्रतिवेदनमा उल्लेख गरेका छन्।
साधरण सभामा बाना ट्रष्टीका अध्यक्ष कुलमणी आचार्यले पनि आफ्नो प्रतिवेदन पेश गरेका थिए।
बानामा दुई हजार भन्दा बढी सदस्य छन् तर साधरण सभामा भने सहभागिता न्यून थियो। सुवोध पन्त दोस्रो कार्यकालका लागि निर्वाचित भए पछि बानाको पहिलो साधरण सभा भएको हो।
बाना अमेरिकामा रहेका नेपाली समुदायमा सक्रिय मध्येको संस्था हो।