रविको राहदानीमा मुद्दा नचल्ने निर्णय दबावमा गरेको होइन : महान्यायाधिवक्ता पोखरेल
काठमाडौं । महान्यायाधिवक्ता दिनमणि पोखरेलले, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय प्रक्रियागत रुपमा नै टुंगिएको जिकिर गरेका छन् ।
शुक्रबार महान्याधिवक्ताको जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा उनले रविको मुद्दा नचल्ने निर्णय राजनीतिक सौदाबाजी र दबावमा गरेको नभई प्रक्रियागत रुपमै टुंगिएको जिकिर गरे । उनले भने ‘ राहदानी प्रकरणको सम्बन्धमा हामीले प्रमाणहरुको मुल्याङ्कन गरेर प्रकियासम्मत रुपमा छानबिन टुंग्याएको हो ।’
‘प्रमाणको मुल्याङकन गरेर विवेकको प्रयोग गरेर गरिएको निर्णय हो त्यसो हुनाले राजनीतिक सौदावाजीको विषयसंग जोडिनु अन्याय हुन्छ ।’ उनले भने ।
महान्यायाधिवक्ता पोखरेलले रविको राहदानी विवादमा प्रहरीलाई सम्पूर्ण अनुसन्धान सकेपछि मात्रै फाइल पेश गर्न भनिएको र त्यसै अनुसार प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गरेको बताए ।














