पर्यटकहरुका लागि आजदेखि नयाँ नियम लागू
काठमाडौं । नेपाल पर्यटन वोर्डले ट्रेकिङ सूचना व्यवस्थापन प्रणालीलाई लिएर एफ आई टि ट्रेकर्सहरुले अनिवार्य गाईड लिएर जानुपर्ने नयाँ नियम लागु गरेको छ ।
शनिवार नेपाल पर्यटन वोडले एक कार्यक्रमको आयोजना गर्दै उक्त योजनालाई लागू गर्ने निर्णय गरेको हो ।
प्रत्येक वर्ष पर्यटकहरु हराउँने दुर्घटनामा पर्ने घटनाहरु बढ्दै गएको हुनाले ट्रेकर्सहरुले अनिवार्य गाईड लिएर जाने नयाँ नियम लागु गरेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले जानकारी दिए ।
पर्यटकलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन सकिने र उनीहरुको सुरक्षाका लागि सो नियम ल्याएको उनको भनाई छ ।
उनले भने ‘ट्रेकिङ सूचना व्यवस्थापन प्रणालीलाई लिएर नयाँ नियम ल्याएको छ । एफ आई टि ट्रेकर्सहरु अनिवार्य गाईड लिएर जाने व्यवस्था थिएन । लामो समय देखि प्रत्यक वर्ष एफ आई टिहरु हराउँने विभिन्न दुर्घटना हुने समयमा उद्धार नहुने अवस्था रहेको थियो धेरै मृत्यु हरण गर्नु परेको अवस्था छ ।
पर्यटकहरुको सुरक्षाको लागि अनिवार्य रुपमा गाईड लग्यो भने उनिहरुले एउटा पथप्रदर्शकको काम गर्ने र उनीहरुको रोजगारीको सृजना हुने र पर्यटकलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन सकिने कारण यो नयाँ नियम लिएर आएको छ ।
उनले नेपालको पर्यटनको पद यात्रा सुरक्षित हुने र नेपालमा रोजगारिको अवसर सृजना हुने बताउँदै गैर कानूनी रुपमा गरिने कामहरु पनि बन्द हुने विश्वास व्यक्त गरे ।















