रसुवागढी नाका आजदेखि पूर्ण सञ्चालन
काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ। रसुवाको रसुवागढी नाका दुईतर्फी सञ्चालनमा आएको हो।
नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन्। नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए। आज २५ देखि ३० कन्टेनर सामान पैठारी हुने अनुमान छ।
केरुङ जान सीमा पास नवीकरण तथा नयाँ बनाउन आज शनिबार पनि अध्यागमन कार्यालय खुला गरिएको छ।
रसुवागढी नाका पूर्णरुपमा सञ्चालनमा आएपछि व्यावसायी, व्यापारी, नाकाबासी तथा जिल्लाबासी उत्साहित भएका छन् । निकास पैठारी र मानिसको आवतजावतको लागि नाकामा तयारी तीव्र पारिएको छ । कन्टेनर चालक, कामदार, व्यापारी तथा व्यावसायीको ऐटिन्जेन परीक्षण गरिएको छ । नाकामा आवतजावत गर्ने १ सय ९६ जनाको शुक्रबार ऐटिन्जेन परीक्षण गरिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए । उनले भने, नाकाबाट आवतजावत गर्ने व्यक्तिको चिनियाँ अधिकारीहरुबाट ऐटिन्जेन परीक्षण गर्न पर्ने जानकारी आएपछि चालक, कामदार, व्यापारी तथा व्यावसायीको ऐटिन्जेन परीक्षण गरिएको हो ।
शनिबार २५ देखि ३० कन्टेनर सामान पैठारी हुन सक्ने भण्डारीले बताए । केरुङ जानको लागि नेपाल-चीन सीमा पास नवीकरण तथा नयाँ बनाउन शनिबार बिहान ६ बजेदेखि नै अध्यगमन कार्यालय खुला गरिएको अध्यागन कार्यालय रसुवागढी रसुवाका अध्यागमन अधिकृत कृष्णप्रसाद पौडेलले बताए ।
२०७६ माघ १५ देखिनै रसुवागढी नाका भएर चीनबाट हुने आयात तथा निर्यात प्रभावित भएको थियो । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात निर्यात बन्द भएको थियो । पछि कोरोना भाइरस (कोभिड–१९) देखा परेपछि रसुवागढी नाका भएर चीनबाट हुने आयात निर्यात थप प्रभावित भएको थियो । साढे पाँच महिना भने कोरोना महामारीका कारण नाका ठप्प रह्यो ।
आयात निर्यात ठप्प रहेको साढे पाँच महिनापछि २०७७ असार २२ गतेबाट पुन: सामान आयात सुरु भए पनि निर्यात भने ठप्प थियो । कोरोना महामारीका कारण रोकिएको सामान निर्यात भने ३५ महिनापछि गत पुस १२ गतेदेखि खुलेको थियो । मानिसको आवतजावत भने ३८ महिना देखिनै ठप्प थियो ।















