अमेरिकामा आम-निर्वाचन २०२४ : को बन्ला त रिपब्लिकन र डेमोक्रयाटबाट राष्ट्रपति उमेदवार ?

Getting your Trinity Audio player ready...
|

प्रसँग,
सन् २०२३ को ग्रृष्म ऋतुको आगमन सगै विश्वकै शक्तिशाली मानिने संयुक्त राज्य अमेरिकामा आगामी वर्ष हुने ४७ औं राष्ट्रपतिको उमेदवारको विषयमा गर्मागर्मी बढ्न थालेको छ ।
मुलत ग्राण्ड ओल्ड पार्टी (जीओपी) अर्थात रिपब्लिकन पार्टीबाट उमेद्दवार को हुने छ ? भन्ने विश्वव्यापी रुपमा जिज्ञाशाको विषय बनेको छ । अर्को तर्फ सत्तारुढ डेमोक्रयाट पार्टीबाट राष्ट्रपति जो बाइडेन नै दोश्रो कार्यकालको लागि पुन उमेदवार बन्ने छन् ? कि नयाँ अनुहार आउने छन् ? यो पनि आम चासो को विषय छ ।
त्यसो त ४५ औं राष्ट्रपति को कार्यकाल पुरा गरि सेकेका बहुचर्चित राष्ट्रपति ट्रम्प पुन जिओपी का उमेदवार बन्ने छन् ? भन्ने सन्दर्भ झन् रोचक छ । यी र यस्तै प्रसङ्ले आगामी आम निर्वाचन अमेरिकाको लागि मात्र नभई, विश्वभर निकै चासोको विषय बन्दै छ । यस आलेखमा जीओपी र डेमोक्रयाट अहिले चर्चामा आएका केही उमेदवारको बारेमा चर्चा गर्न खोजिएको छ ।
डेमोक्रयाट उमेदवार को ?
अमेरिकी राजनीतिमा सामान्यतय बहालवाल राष्ट्रपतिले दोश्रो कार्यकालको लागि पुन निर्वाचन लड्ने इच्छा जाहेर गरेमा उसैलाई उमेदवार बनाउने परम्परा रहदै आएको छ । अमेरिकी निर्वाचनको इतिहासमा १९ औं राष्ट्रपति रुथरफोर्ड बी. हेयेस बाहेक पछिका अन्य वहालवाला राष्ट्रपतिले दोस्रो कार्यकालका लागि निर्वाचन लड्दै आउका छन्। सन् १८८१ मा पहिलो कार्यकाल पुरा गरे पनि हेयेसले दोश्रो कार्यकालका लागि हुने निर्वाचनमा उमेदवार भएका थिएनन्।
यस हिसवाले पनि डेमोक्रयाटका तर्फवाट बाइडेन नै पुन उमेदवार हुने आँकलन गर्न सकिन्छ । त्यसो त, २०२२ मा सम्पन्न मिड-ट्रम इलेक्सनमा डेमोक्रयाट पार्टीले आम अपेक्षा भन्दा राम्रो नतिजा ल्याएको कारण पनि राष्ट्रपति बाइडेन उत्साहित देखिन्छन् । रियुटसरको मार्च ८, २०२३ को आँकडा अनुसार बाइडेनको अप्रुबल रेटिङ्ग (राष्ट्रपतिको कार्य प्रति आम नगरिकको विश्वास) पनि सुधारिदै आएको छ ।
हाल उनको अप्रुबल रेटिङ्ग करिव ४२ प्रतिशत रहेको छ । सन् २०२१ को मे-जुलाइ ताका ३६ प्रतिशत मात्र थियो । त्यसो त र्फचुन पत्रिकाको फेव्रुअरी अंकका अनुसार जनवरी २०२३ मा अमेरिकी वेरोजगारी दर केवल ३ दशमलव ४ प्रतिशत मात्र थियो जुन पछिल्लो ५४ वर्ष यताकै न्यून बेरोजगारी हो । यी र यस्तै अवस्थाले राष्ट्रपति बाइडेन पुन उमेदवार बन्ने आँकलन गर्न सकिन्छ ।
अर्को तर्फ राष्ट्रपति बाइडेनको घर्कदो उमेर उनको उमेदवारीको सवै भन्दा कमाजोर कडी बन्ने प्रायस निश्चित छ । २०२४ मा उनी ८२ वर्षका हुने छन् । बढ्दो उमेरका कारण उनी पुन अमेरिकाको राष्ट्रपति बन्न नसक्ने बहस पार्टी भित्र र बहिर हुने गरेको छ ।
कोडिभ पश्चात अमेरिकामा देखिएको आर्थिक मन्दी र त्यसले सृजना गरेको मूल्यवृद्धि नियतन्त्रणमा बाइडेन नीति, तथा पूर्वि युरोपका दुई मुलुक विच चलिरहेको युद्धमा अमेरिकाको भूमिका प्रति बाइडेन प्रशासन माथि अमेरिकी जनताको निकै ठूलो गुनासो रहदै आएको छ । यस्ता विविध कारणले डेमोक्रयाट पार्टी भित्रको एकखेमा बाइडेनको विकल्प पनि खोजी रहेको छ ।
बाइडेन उमेदवार नभए उनको विकल्प को ?
बाइडेन उमेदवार नभएको खण्डमा पनि डेमोक्रयाट बाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस उमेदवार बन्ने सम्भावना झिनो देखिन्छ । निर्वाचन २०२० मा पनि उमेदवार दिएकी लेखिका मेरीअन्ना विलियमसनले २०२४ मा पनि आफ्नो उमेदवारी रहने बताइसकेकी छिन् । त्यसो त पाका नेता बर्नी स्यान्डर्स पनि फेरी एक पटक ह्वाइट हाउसको मार्ग तिर नजर लगाउन सक्ने देखिन्छ । यस्तै मिनेसोटाकी सिनेटर एमी कोल्वाचर पनि पुन डेमोक्रयाट पार्टीको तर्फ बाट उमेदवार बन्न सक्नेछिन् । यो आलेख तयार पार्दा सम्म विलियमसन बाहेक अरु डेमोक्रयाट उमेदवार ले आफ्नो उमेदवारी प्रस्तुत गरेका छैनन् ।
रिपब्लिकन को उमेदवार को ?
गत वर्ष नोभेम्बर मै पूर्व राष्ट्रपति ट्रम्पले आफू अगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् । मूलत आप्रवासी प्रति अनुदार एवं स्वदेशी लगानीमा प्राथमिकता तथा सरकारी खर्चको कटौति नीतिका पक्षधर ट्रम्प कन्जरभेटिभ अमेरिकन बीच निकै लोकप्रिय छन् ।
उनी आफ्नो पहिलो कार्यकाल निकै उत्कृष्ट रहेको जिकिर गदै अव “मेक अमेरिका ग्रेट एण्ड ग्लोरियस अगेन” भन्ने नाराका साथ मिसन २०२४ को तयारीमा छन् । तथापी २०२४ को मार्ग भने ट्रम्पका लागि त्यति सहज भने देखिदैन ।
रिपब्लिकन पार्टीलाई स्पोन्सर गर्ने समुहहरु जस्तो “क्लव फर ग्रोथ” (आर्थिक स्वतन्त्रता पक्षधर) तथा रिपब्लिकन डोनर नेटर्वक भित्रका सरोकार समुह “अमेरिकन फर प्रर्सपेरिटी” (समृद्धिका लागी अमेरिकन) ले त खुला रुपमा नै ट्रम्प बाहेकका अन्य उमेदवारलाई इन्डोरर्स गर्ने कुरा मुलधारका सञ्चार माध्याममा आइसकेका छन् । त्यसो त, जनावरी ६, २०२१ मा क्यापिटल हिलमा भएको घटनाको जिम्मेवारी ट्रम्पले लिनु पर्ने जिकिर उनका उपराष्ट्रपति पेन्सले पनि गर्ने गरेका छन् । त्यसै पनि कर तथा अत्यन्त गोप्य कागजातको अपचलन आदी जस्ता विषयका मुद्दाहरु पनि ट्रम्पको लागि रोड टु २०२४ मा ठेस लाग्ने ढुङ्गा सावित हुन सक्छन् । यस्तो अवस्थामा ट्रम्पका विकल्प खोज्नु पर्ने हुन्छ।
ट्रम्प उमेदवार नभए उनको विकल्प को?
रिपब्लिकनबाट आगमी निर्वाचनमा यो आलेख तयार पार्दा सम्म चर्चा आएका केही नामहरु यहाँ उल्लेख गरिएको छ । हाल चर्चा आएको पहिलो नाम हो, साउथ क्यारोलाइनाका पूर्व गर्भनर निकी हेली ।
केही समय अगाडी “अवको समय नयाँ पुस्ताको नेतृत्वको हो,” भन्दै उनले आगमी निर्वाचनमा आफ्नो उमेदवारी घोषणा गरिसेकेकी छिन् । हेलीले ट्रम्प प्रशासनमा यु.एन. का लागि अमेरिकी एम्ब्यासेडर भएर पनि काम गरिसेककी छिन् । सो जिम्मेवारीमा रहदा उनले इजरायल, उत्तर कोरिया, रसिया र सिरिया प्रति झण्डै झण्डै ट्रम्प जस्तै कठोर नीति लिएकी थिइन ।
उत्तर कोरियाको आणविक हतियारको विषयमा होस या सिरिया युद्धमा आणविक हतियारको प्रयोग भएको विषयमा हेलीको नीति निकै आक्रमक थियो । सिरियालाई आणविक हतियार प्रयोग गर्न प्रोत्साहन गरे रसिया माथि अमेरिकाले प्रतिवन्ध सम्म लाउन सक्ने चेतावनी हेलीले त्यो बेला दिएकी थिइन ।
त्यसो त अमेरिकामा हाल चर्चामा रहेको गर्भपतनको नीति प्रति हेली अनुदार छिन् । आप्रवासको नीतिमा आमुल सुधार गर्नु पर्ने मान्यता राख्ने हेली खुला सीमाना प्रति कठोर रहदै आएकी छिन् । कर नबढाउने तर राष्ट्रिय ऋण घटाउने नीति उनको आर्थिक नीति छ । उनको सरकारी खर्चमा कटौती गर्दै राष्ट्रिय ऋण घटाउने नीति छ ।
उनको नीति र नेतृत्व प्रति रिपब्लिकन भित्र मात्रै होइन इन्डिपेनडेण्ट भोटरहरु पनि आशावादी छन् । तथापी महिला उमेदवार तथा अस्वेत महिला आदी जस्ता कारणले उनको ह्वाइट हाउस सम्मको यात्रा सहज भने देखिदैन ।
फ्लोरिडाका गर्भनर रान डिस्यान्टिसलाई पनि रिपब्लिकन पार्टी भित्र आगामी राष्ट्रपतिको उमेदवारको रुपमा हेरिएको छ । कतिपयले उनलाई ट्रम्पको विकल्पको रुपमा पनि हेर्ने गरेका छन् । हाल सम्म उनले औपचारिक रुपमा आफ्नो उमेदवारीको घोषणा गरिसकेका छैनन् । कोभिडको समयमा उनले लिएको खुकुलो नीति, चीन प्रति कठोर रवैया, बन्दुक राख्न पाउने नीतिका पक्षधर भएका कारण कन्जरभेटिभस् अमेरिकनहरु उनको नेतृत्व प्रति विश्वस्त देखिन्छन् ।
त्यसो त आलोचनाबादी जातिय सिद्धान्त (क्रिटकल रेश थिएरी) का कटु आलोचक एवम् अमेरिकी शिक्षा नीति राष्ट्रबादी बनाइनु पर्दछ भन्ने सिद्धान्त बोकेका कारण पनि राष्ट्रवादी अमेरिकनहरु विच पनि उनी लोकप्रिय छन् । आप्रवासीहरु प्रति पनि उनी कठोर नै देखिन्छन् । यी सवै हिसावले अगामी निर्वाचनमा डिस्यान्टिसले फ्लोरिडा बाट डि.सी. सम्मको यात्रा तय गर्ने अनुमान गर्न सकिन्छ ।
ट्रम्प प्रशासनका उपराष्ट्रपति पनि आगामी राष्ट्रपतिका उमेदवार हुन । भारतीय मुलका मल्टीमिलेनियर युवा ब्यावसायी विवेक रामास्वामीले पनि अमेरिकी राष्ट्रपतिमा आफ्नो उमेदवारीको घोषण गरिसकेका छन् । रामास्वमी पनि आफूलाई एन्टाई ओक (अर्थात अमेरिकामा कुनै पनि कुरामा भेदभाव छ भन्ने कुरामा विश्वास नराख्ने) मान्यतामा विश्वास गर्ने पात्रको रुपमा प्रस्तुत गर्दछन् । मेरिल्याण्ड राज्यका पूर्व गर्भनर लेरी होगन, साउथ क्यारोलाइनाका सिनेटर टिम स्कट आदी जस्ता प्रस्सत नामहरु अहिले चर्चामा छन् ।
अन्तमा,
यस आलेखमा यो लेख तयार पार्दा सम्म चर्चामा आएका केही नामहरुको बारेमा मात्र उल्लेख गरिएको छ । रिपब्लिक तथा डेमोक्रयाट दुवै पार्टीमा निकै अनुभवी, लोकप्रिय र पाका नेताहरु छन् ।
यहाँ प्रस्तुत नभएका नाम पनि आगामी अमेरिकी राष्ट्रपतिय निर्वाचनमा उमेदवार बन्न सक्ने छन् । त्यसको अन्तिम टुङ्गो भने रिपब्लिक पार्टी भित्र आर.एन.सी.(रिपब्लिकन न्यासनल कमिटी) तथा डेमोक्रयाट पार्टी भित्र डी.एन.सी. (डेमोक्रयाटिक न्यासनल कमिटी) को निर्णयले निर्धारण गर्ने छ ।
(लेखक डा. ओझा मेनेसोटा नर्थ कलेज, मेनेसोटा एवँम् मेडगर एभर्स कलेज—सीटि युनिर्भसीटि ओफ न्यू योर्क मा समाजशास्त्र विषय प्राध्यापन गर्दछन् ।)