गठबन्धन भत्काउने चकचक नगर्न ओलीलाई थापाको चेतावनी
काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस सवैभन्दा ठूलो दल भएकाले पुस १० गतेको घटनाका विषयमा बढी जिम्मेवारी लिने बताउँदै आगामी दिनमा अहिलेको गठबन्धन मजबुत भएर अघि बढ्ने बताएका छन् ।
मार्च ९ तारिखमा (फागुन २५ गते) हुन लागेको राष्ट्रपति पदको चुनावका लागि ८ दलीय मोर्चाबाट उम्मेदवार भएका रामचन्द्र पौडेलको पक्षमा मतमाग्नका लागि आयोजना गरिएको बगमति प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय गरिरहेका कामप्रति टिप्पणी गर्दै वर्तमान गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिएका हुन् ।
आफूहरुका बीचमा भएको सहमति पाँचै वर्ष कार्यान्वयन भएर अगाडी बढ्ने बताउँदै राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किने र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भनेर भ्रम फैलाइएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे ।
महामन्त्री थापाले आफूहरुका बीचमा भएको सहमति कार्यान्वयन नभएमा दलहरु माथिको इमान्दारीता र विश्वसनीयतामा प्रश्न उठ्ने भन्दै त्यसो हुन नदिने बताए । उनले नेपाली कांग्रेसका कोही पनि नेताहरुलाई भेटेर गठबन्धन भत्काउने चकचक नगर्न चेतावनी दिए ।
‘नेपाली कांग्रेस पार्टीसँग अब कोही चकचक गर्न नआए हुन्छ । कोही चल्न नआए हुन्छ । पाँच वर्ष यो कहीँ कतै जे समझदारी गरेर अस्ति आएका छौँ । कहीँ, कतै, कोही, धराप थाप्न नआए पनि हुन्छ । कसैले यसलाई अल्मल्याउन नखोजेपनि हुन्छ । र कोही नअल्मल्लिए पनि हुन्छ । पार्टीका कोही कसैलाई भेटेर फेरि नेपाली कांग्रेससँग चकचक गर्ने काम बन्द गरे हुन्छ यसबाट केही निस्कनेवाला छैन । तेल निस्कनेवाला छैन यो कुरा राम्रो सँग बुझे हुन्छ ।’
‘अहिले भर्खर म समाचार पढ्दै थिएँ । हामी लोसपाको कार्यालयमा गयौँ, लोसपा हामीलाई मत दिन यो त हाम्रो क्याम्पसको चुनावमा पनि हुँदैनथ्यो । त्यहाँपनि हामी अलिकति निर्वाचनको मर्यादा राख्थ्यौँ ।’ महामन्त्री थापाले भने।
‘नेकपा एसको कार्यालयमा आयो, नेकपा एस हामीलाई चुनावमा मतदान दिन सकारात्मक भएको छ, लोसपाको कार्यालयमा गयो लोसपा सकारात्मक भएको छ । यो तहसम्म साथीहरु आएर निर्वाचनको बेलामा यसलाई अल्मल्याउने कोशिस गरिराख्नुभएको छ ।’ उनले भने, ‘र फागुन २५ गतेपछि नेपाली कांग्रेसको नेतृत्वमा फेरि सरकार बन्छ । यो गठबन्धन टिक्दैन, पाँच वर्ष जे समझदारी भएको छ, यो पटक हामीपनि संलग्न छौँ ।’
‘नेपाली कांग्रेसको तर्फबाट महामन्त्रीको हैसियतबाट पनि यो कुरा भन्छु, नेपाली कांग्रेस पार्टी यो पटक सबैभन्दा बढी जिम्मेवारीका साथ कुनैपनि पार्टीलाई क्षति होस् । व्यक्तिलाई क्षति होस् । तर यो नेपालको राजनीतिक दलहरुको इमान्दारीतामाथि प्रश्न पनि भयो । पार्टीको प्रतिष्ठा माथिको प्रश्न पनि भयो । विश्वसनीयतामाथि प्रश्न पनि भयो ।’ महामन्त्री थापाले भने।