टुँडिखेलमा विशेष समारोह बीच मनाइयो सेना दिवस
काठमाडौं / नेपाली सेनाको २६०औँ स्थापना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोह सम्पन्न भएको छ ।
महाशिवरात्रि तथा सेना दिवसका अवसरमा विशेष समारोहमा सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०७९’ लेखिएको ब्यानर प्रदर्शन गरिएको छ । कार्यक्रममा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ र कवाज प्रस्तुत गरेको छ ।
समारोहमा सेनाले विभिन्न रणकौशल तथा परम्परागत वेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गर्नुका साथै मार्चपास, पिटी र तेक्वान्दो प्रस्तुत गएको छ ।
कार्यक्रमा, नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको छ ।
राष्ट्रपतिदेखि, विदेशी पाहुनासम्मले गरे अवलोकन
सेना दिवसको अवसरमा आयोजित कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गरेकी छन् । नेपाली सेनाका परमाधिपति समेत रहेकी राष्ट्रपति भण्डारीले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरेकी छन् । शास्त्रीय मान्यताअनुसार, शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने मान्यताकै आधारमा नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।
समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०७९ वार्षिक पत्रिका र नेपाली सेनाको इतिहास नामक पुस्तकको विमोचन गरेकी छन् ।
त्यस्तै उनले ‘फ्री फल जम्प’ मा प्रथम हुने सेनानी जगनाथ दनाई र दोस्रो हुने सेनानी टेकबहादुर कार्कीलाई पुरस्कार गर्नुका साथै सो समारोहमा ब्याण्ड प्रस्तुत गर्ने भारतीय र बेलायती सेनामा कार्यरत गोर्खा ब्याण्ड समूहका प्रमुखलाई उपहार प्रदान गरिन ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र सभामुख देवराज घिमिरे लगायत मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, समारोहमा भारतीय सेनाका पाँच पूवप्रमुख लगायत उपस्थित थिए ।
समारोहपछि प्रधानसेनापति प्रभुराम शर्माले समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गरेका छन् ।