भारतीय समाजवादी नेता शरद यादवको निधन
काठमाडौँ । जनता दल युनाइटेड(जेडीयू) का पूर्वअध्यक्ष तथा भारत सरकारका पूर्वमन्त्री शरद यादवको निधन भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार नेता यादवको बिहीबार राति निधन भएको हो । उनी ७५ वर्षका थिए ।
रिपोर्टहरूका अनुसार बिहीबार एक्कासि दिल्लीको छतरपुरस्थित निवासमा ढलेपछि उनलाई अस्पताल लगिएको थियो ।
यादवकी छोरी शुभासिनी यादवले पनि सामाजिक सञ्जालमा ‘बुवा रहनु भएन’ लेखेकी छिन् । भारतीय समाजवादी आन्दोलनमा एक बलियो खम्बाका रूपमा रहेका यादव मध्य प्रदेशको जबलपुरबाट २ पटक, उत्तर प्रदेशको बदायुँबाट एक पटक र बिहारको मधेपुरा क्षेत्रबाट ४ पटक लोकसभा सदस्य निर्वाचित भएका थिए । त्यस्तै उनी जनता राज्यसभा सदस्यसमेत बने । जन्मस्थल मध्य प्रदेश भए पनि उनले बिहारको राजनीतिमै प्रभावकारी भूमिका खेले ।
सन् २०१९ मा आरजेडीबाट लोकसभा चुनाव लडेका थिए । जेडीयूका संस्थापक सदस्यसमेत रहेका उनी मुख्यमन्त्री नीतीश कुमारले महागठबन्धन तोडेर भाजपासँग मिलेपछि असन्तुष्ट थिए । त्यसैले उनले पार्टी छाडेका थिए । त्यसपछि उनकै नेतृत्वमा गठन भएको नयाँ दल लोकतान्त्रिक जनता दल मार्च २०२२ मा आरजेडीमै विलय भएको थियो ।
यादवको निधनमा भारतीय प्रधानमन्त्रीलगायतका शीर्ष नेताले श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘शरद यादवको निधनले दु:खी छु । आफ्नो लामो सार्वजनिक जीवनमा उहाँले आफूलाई सांसद र मन्त्रीका रूपमा प्रतिष्ठित बनाउनु भएको थियो । उहाँ डाक्टर लोहियाको आदर्शबाट निकै प्रभावित हुनुहुन्थ्यो । हामीबीच भएका कुराकानी म सधैं सम्झिइरहनेछु । परिवार र प्रशंसकप्रति संवेदना ।’














