राहदानी वितरणमा देखिएको समस्या अन्त्य भयोः विभाग
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । झण्डै एक सातादेखि देखिएको राहदानी वितरणको समस्या समाधान भएको राहदानी विभागले दाबी गरेको छ । पुस १७ मा समस्या देखिएपछि विभागले आफ्नो काम अनिश्चितकालका लागि रोकिएको बताएको थियो ।
आज बेलुकी सूचना निकाल्दै विभागले राहदानीको आवेदन दिएकाले राहदानी तयार रहेको म्यासेज मोबाइलमा आएपछि वा नेपाल इपासपोर्ट एपमा राहदानी तयार छ भन्ने जानकारी प्राप्त भएपछि राहदानी लिनका लागि सम्पर्क गर्न आग्रह गरेको छ ।
विभागले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार राहदानी प्राप्त गर्ने प्रक्रियालाई अझै चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन विभागले आवश्यक प्रक्रिया अघि बढाउने पनि स्पष्ट पारेको छ ।
प्रधानमन्त्री प्रचण्डले सरकारकार सचिव तथा विभागीय प्रमुखहरुलाई निर्देशन दिँदै एक महिना भित्र सेवाग्राहीले लाइनमा बस्नु पर्ने र झन्झट व्यहोर्नु पर्ने समस्या सधैंका लागि अन्त्य गर्ने निर्देशन दिएका थिए ।
त्यसै दिन राहदानी विभागले भने प्राविधिक समस्या आएको भन्दै अनिश्चितकालका लागि सेवा बन्द गरेको सूचना निकालेको थियो । विभागले सर्भरमै समस्या आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्राविधिकले समेत विभागको अनुगमन गरेका थिए ।
यस्तै सर्भरमा देखिएको समस्या समाधानका लागि सफ्टवेयर बनाउने अन्तर्राष्ट्रिय कम्पनीबाट समेत प्राविधिक नेपाल आएका थिए ।








