माधव नेपाल र रेशम चौधरीको पार्टी संसदमा प्रतिपक्षी बेञ्चमा बस्ने तर विश्वासको प्रस्तावबारे भने अनिर्णित
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । संघीय संसदको भोलीदेखि सुरु हुने अधिवेशनमा माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षी बेञ्चमा बस्ने भएका छन् ।
अधिवेशन सुरु हुनुपुर्व संघीय संसद सचिवालयले पार्टीहरुलाई कुन बेञ्च- सत्तापक्ष वा प्रतिपक्ष भनेर सोधेको प्रश्नको जवाफमा दुबै पार्टीले प्रतिपक्षमा बस्ने जवाफ दिएका हुन् ।
दलहरुले दिएको जवाफका आधारमा प्रतिनिधिसभा भवनमा सिट व्यवस्थापन गरिएको छ । संसद सचिवालयका अधिकारीहरुका अनुसार ‘एकीकृत समाजवादीले प्रतिपक्षी बेञ्चमा बस्छौं’ भनी जानकारी गराएको छ ।
आइतवार बिहान मात्रै नेता नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भएको भेटवार्ता पछि दिउँसो एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता नेपालले आफुलाई व्यक्तिगत रुपमा दाहाललाई विश्वासको मत दिन केही आपत्ति नरेहको बताएका थिए ।
तर, एकीकृत समाजवादीले संसद सचिवालयलाई भने आफूहरुलाई प्रतिपक्षी बेञ्चमा राखिदिन भनेको हो ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिँदैछन् । यसकारण सोमबारबाट सुरु हुने अधिवेशनमा एकीकृत समाजवादीले आफूहरुलाई प्रतिपक्षी बेञ्चमा राखिदिन गरेको आग्रहलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
यता पार्टीका महासचिव बेदुराम भुसाल प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा सोमबार नै निर्णय हुने बताउँछन् । उनी भन्छन्, ‘हामी सत्तामा छैनौं त्यसकारण सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा हामी प्रतिपक्षमै बस्छौं ।’
विश्वासको मतको बारेमा समाजवादी जस्तै अनिर्णित छ नागरिक उन्मुक्ति पार्टी । पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टी प्रतिपक्षी बेञ्चमा बस्ने भनि संसद सचिवालयलाई जानकारी दिएको बताउँछिन् ।
“प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा आफ्नो पार्टीले निर्णय गर्न बाँकी छ । प्रधानमन्त्रीलाई विश्वासको मत भोलि (सोमबार) नै दिने होइन । यसकारण भोलि प्रतिनिधि सभामा प्रतिपक्षीमा बस्ने जानकारी संसद सचिवालयलाई गराएका हौं’, श्रेष्ठले भनिन् ।
नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइलाई प्रमुख विषय बनाएको छ । यस विषयमा आउने प्रतिबद्धताले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय हुने पार्टीका नेताहरुले बताउँदै आएका छन् ।












