नेपालमा आउने विदेशी लगानी ९३ प्रतिशतले घट्यो
काठमाडौं । नेपालमा पहिलाका वर्षको तुलनामा विदेशी लगानीको अनुपात घट्दै गएको छ । चालु चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब ४३ करोड रुपैयाँ कुल प्रत्यक्ष विदेशी लगानी (एफडीआई) मुलुक भित्रिएको छ । तर गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ९३.५ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको कात्तिकसम्म ६ अर्ब ६३ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो ।
अघिल्लो आर्थिक वर्षमा १९ अर्ब ५१ करोड रुपैयाँ विदेशी लगानी भित्रिएकामा गत आर्थिक वर्षमा केही घटेर १८ अर्ब ५६ करोड रुपैयाँ कायम भएको थियो । चालु आर्थिक वर्षका पहिलो २ महिनामा विदेशी लगानी ऋणात्मक थियो । पहिलो महिनामा १ अर्ब ४० करोड र दोस्रो महिनासम्ममा ८० करोड रुपैयाँ विदेशी लगानी ऋणात्मक थियो । चालु आर्थिक वर्षको सुरुमा नेपालको शैक्षिक क्षेत्रबाट १ अर्ब ८० करोड रुपैयाँ विदेशी लगानी बाहिरिएकाले ती महिनामा खुद विदेशी लगानी ऋणात्मक देखिएको राष्ट्र बैंकले जनाएको छ ।
विगतमा नेपालका शैक्षिक क्षेत्रमा आएको विदेशी लगानीमध्ये चालु आर्थिक वर्षको सुरुमै करिब पौने २ अर्ब रुपैयाँ फिर्ता भएको थियो । त्यसै पनि नेपालमा थोरै मात्र विदेशी लगानी आउने गरेको र त्यही अवस्थामा ठूलो परिमाणमा पुरानो लगानी बाहिरिएपछि खुद प्रत्यक्ष विदेशी लगानी ऋणात्मक रहेको जानकारहरू बताउँछन् ।
यद्यपि तेस्रो महिना (गत असोज) देखि भने विदेशी लगानीको वृद्धि सकारात्मक हुन थालेको देखिन्छ । यसअनुसार गत असोजसम्ममा करिब ८ करोड रुपैयाँ विदेशी लगानी भित्रिएकामा कात्तिकसम्ममा त्यो बढेर करिब ४३ करोड रुपैयाँ पुगेको हो ।
खासगरी कोभिडपछि विश्व अर्थतन्त्रमै समस्या रहेकाले धेरै देशमा विदेशी लगानी घटिरहेको र नेपालमा पनि त्यसको प्रभाव परेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । ‘विदेशी लगानी सधैंभरि बढिरहन्छ भन्ने पनि हुँदैन,’ उनले भने, ‘विश्वव्यापी रूपमै मन्दी छ । यस्तो अवस्थामा नेपालमा मात्र विदेशी लगानी बढ्ने भन्ने हुँदैन ।’ यद्यपि नेपालमा धेरैभन्दा धेरै विदेशी लगानी भित्र्याउन धेरै नीतिगत र संरचनात्मक सुधार गर्नुपर्ने उनको भनाइ छ ।














