माओवादी केन्द्र र नेपाल समाजवादीबीच एकीकरण हुन कार्यदल गठन
काठमाडौँ । संविधान जारी भएको एक वर्ष पनि नहुँदै छुटिएका बाबुराम भट्टराइ र पुष्पकमल दाहाल फेरी एकै पार्टीमा आवद्द हुने भएका छन् ।
दाहाल नेतृत्वको माओवादी केन्द्र र भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकीकरण हुने भएको हो ।
शनिवार दुई नेताबीच पार्टी एकिकरणका विषयमा छलफल समेत भएको छ ।
‘पार्टी एकता छिट्टै गर्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको छ । यस्तै संसदमा विश्वासको मत लिने र अन्य समसामयिक विषयमा छलफल भएको हो ।’ भट्टराइ नेतृत्वको नेपाल समाजवादीका नेता गंगा श्रेष्ठले भने ।
माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी एकताको प्रस्ताव गर्ने र आइतबार बस्ने नेसपाको राजनीतिक समितिको बैठकमा प्रस्ताव गरेर ती बैठकबाट पार्टी एकतालाई मूर्त रुप दिएर जाने सहमति भएको नेता श्रेष्ठले बताए ।
अलि छिट्टै पार्टी एकता गर्ने दुवै अध्यक्षको चाहना रहेको उनको भनाई छ । एकतापछिको पार्टीमा अध्यक्ष भट्टराईको स्थान कुन रहन्छ भन्नेबारेमा अहिले निर्क्यौल नगरेको भोली एकता हुने बेलामा तय गरिने भएको छ ।
एकतापछिको पार्टीको नाम के राख्नुपर्छ भनेर नेसपाको तर्फबाट प्रस्ताव गरेपनि पछि छलफलबाट टुङ्गो लाग्ने र पार्टी एकताका लागि एउटा कार्यदल बन्न सक्ने नेता श्रेष्ठको भनाई छ ।
नयाँ संविधान जारीपछि माओवादी केन्द्र छोडेर डा.भट्टराईले २०७३ जेठ ३० गते दशरथ रंगशालामा सभा गरेर नयाँ शक्ति पार्टीको घोषणा गरेका थिए ।
२०७६ साल बैशाख २१ गते उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा.भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता भएर समाजवादी पार्टी नेपाल बनेको थियो । २०७९ असारमा उपेन्द्र यादवसँगपनि छुट्टिएर भट्टराइले नेपाल समाजवादी पार्टी गठन गरेका थिए ।















