सरकारको काम प्रभावकारी बनाउन प्रधानमन्त्रीले आज निर्देशनात्मक सम्बोधन गर्ने
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका सचिवालयका अनुसार नेपाल सरकारका सबै सचिवहरूको रिपोर्ट सुनिसकेपछि प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूचि रहेको छ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा गृह, अर्थ, शिक्षा, परराष्ट्र, भौतिक पूर्वाधार, संस्कृति तथा पर्यटन लगायतको मन्त्रालयका सचिवहरूले आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए। विशेषगरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजनाअनुसार सोमबार पहिलो चरणमा प्रधानमन्त्रीले सचिवहरुसँग छलफल गरेका थिए। सचिवहरुले मन्त्रालयको नीति तथा कार्यक्रम, वार्षिक बजेट र कार्यसम्पादनमा भएका कमी तथा कमजोरीका बारेमा जानकारी गराएका थिए ।
सोमबार रिपोर्टिङ गर्न बाँकी सचिवहरूको रिपोर्ट सुनिसकेपछि प्रधानमन्त्री प्रचण्डले आज सरकारका कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न निर्देशन दिन लागेका हुन्।
प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएपछि पहिलो पटक सचिवहरुसँग छलफल गरेका हुन्। प्रचण्डले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्दै जाने बताएका छन्। अर्थतन्त्रमा देखिएको समस्यालाई पार लगाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, भ्रष्टाचार नियन्त्रण र व्यथिति नियन्त्रण गर्नुपर्ने अवश्यकता रहेको बताउँदै आएका छन्।
प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते विश्वासको मत लिने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले २५ गतेलाई संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिसकेकी छन्। त्यसको भोलिपल्ट प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन प्रधानमन्त्री दाहालले सूचना गरेको संघीय संसद् सचिवालयले जनाएको छ।
प्रचण्ड पुस १० गते तेस्रोपटक संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएका थिए। उनले भोलिपल्ट ११ गते शपथ लिएर कार्यभार सम्हालेका हुन्। नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ।
एमालेको नेतृत्वमा बनेको नयाँ सत्ता साझेदार दलहरुमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्त पार्टी रहेका छन्।












