प्रजिअहरुलाई गृहमन्त्री लामिछानेको निर्देशन – जनतालाई शीतलहरबाट जोगाउनू
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई निर्देशन दिएका छन् । उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिए ।
सोमबार प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई निर्देशन दिँदै उनले शीतलहरबाट कोही पनि नागरिकले क्षति व्यहोर्न नपर्ने गरी आवश्यक पूर्व तयारी गर्न निर्देशन दिएको सहसचिव भीष्मकुमार भुसालले जानकारी दिए।
‘विपद्का समयमा प्रत्यक्ष उपस्थिति र प्रभावकारी सञ्चारले ठूलो महत्त्व राख्छ। शीतलहरबाट कुनै नागरिकले क्षति व्यहोर्नु नपरोस् भन्ने विषयलाई हृदयङ्गम गरी आवश्यक पूर्व तयारी एवं प्रतिकार्यका लागि तयार हौं,’ लामिछानेको निर्देशन उदृत गर्दै भुसालले भने।
यस्तै नागरिकहरूलाई सरकार अभिभावक हो भन्ने भावनाको सुनिश्चितता गराउने जिम्मेवारी भएको भन्दै उनीहरूको आवाज केन्द्रसम्म पुर्याउने र सुनुवाइ गर्न पनि निर्देशन दिए।
नागरिकहरूको समस्या सुन्दा र समाधानको पहल गर्दा समभाव राख्न पनि गृहमन्त्री लामिछानेले बताए। जुनसुकै माध्यमबाट दर्ता भएका उजुरीहरूको छानविनमा जोड दिन पनि उनले बताएका छन्।
‘निर्णयमा ऐन, नियम, कानून, कार्यविधि एवं विवेकको समेत प्रयोग गर्नुहोस्। तपाईं न्याय गर्ने ठाउँमा हुनुहुन्छ। न्याय गर्दा लिपिवद्ध कानून मात्र नभएर विवेकको प्रयोग गर्नुपर्ने अवस्थामा विवेक प्रयोग गर्नुहोस्,’ लामिछानेको भनाइ उदृत गर्दै भुसालले भने, ‘यान्त्रिक हिसाबले गरिने निर्णयले सेवाग्राहीले न्याय नपाउन सक्छ। विवेकले निर्णय गर्नुपर्ने अवस्थामा निर्णयमा त्यसको पुष्ट्याइ पनि लेख्नुहोस्।’
त्यसैगरी उनले मिटरब्याजी र नागरिकताविरूद्धका उजुरी छानविनलाई पनि तीव्रता दिन निर्देशन दिएको सहसचिव भुसालले बताए।















