घरभित्रको प्रदूषणले मृत्युदर उच्च
काठमाडौं । एक अन्तर्राष्ट्रिय अध्ययनले भन्छ– ‘नेपालमा घरभित्र हुने प्रदूषण (इन्डोर पोलुसन)बाट मृत्यु हुनेको संख्या विश्वका अन्य मुलुकको तुलनामा उच्च छ।’ उक्त अध्ययनअनुसार नेपालमा प्रत्येक १ लाखमा १८२.५ जनाको मृत्यु यसकै कारण हुन्छ। श्वास–प्रश्वाससँग सम्बन्धित जोखिमको बारेमा सन् १९९० देखि २०१९ सम्म भएको अध्ययनले यस्तो तथ्य सार्वजनिक गरेको हो।
२ सय ४ देशमा गरिएको अध्ययनले नेपालमा घरेलु प्रदूषणका कारण क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डीजीज (सीओपीडी) अर्थात् फोक्सोसँग आधारित समस्याले मृत्यु हुने समस्या उच्च देखिएको छ। ‘ग्लोबल बर्डन अफ डीजीज स्टडी’ नाम दिइएको उक्त अध्ययन प्रतिवेदन गत जुलाईमा सार्वजनिक गरिएको थियो। विज्ञका अनुसार, सीओपीडी यस्तो समस्या हो, जसले हावाको बहाबलाई बन्द गराउँछ र श्वास–प्रश्वासमा समस्या निम्त्याउँछ। अनि, घातक समस्या ल्याउँछ। प्रदूषणले क्यान्सर, मानसिक समस्या, मुटु, ग्यासटाइटिस तथा मांसपेसीको समेत गडबडी हुने जोखिम बढाउने अध्ययनको निष्कर्ष छ।
क्यानाडाका मेगेल विश्वविद्यालयमा ‘डिपार्टमेन्ट अफ इपिडिमियोलोजी एन्ड अकुपेसनल हेल्थ’ विभागका जे कफम्यानले उक्त अध्ययन गरेका हुन्। वातावरणीय समस्याले फोक्सोसम्बन्धी जोखिम बढाउने भए पनि गरिब एसियन देशहरूमा भान्साबाट निस्किने धुवाँ प्रमुख समस्या भएको अध्ययनमा भेटिएको छ। नेपालमा प्रदूषणका मुख्य कारण बायोमास (दाउरा, पराल, गोबरग्यासलगायत)को प्रयोग, फोहोर जलाउनु र यातायातसमेत रहेको पाइन्छ।
कफम्यानका अनुसार फोक्सोजन्य समस्या बढ्नुमा भान्साबाट निस्किने धुवाँ, तताउने प्रणाली र बाहिरी प्रदूषणले थप टेवा दिएको छ। श्वास–प्रश्वाससँग सम्बन्धित समस्याले नेपालमा मात्रै २६ प्रतिशतको मृत्यु हुँदै आएको छ। उक्त नम्बर संसारभरिको उच्च हो। उक्त समस्यासँग जुध्नका लागि वायुको गुणस्तर नियमन प्रभावकारी रूपमा लागू गर्न सुझाएका छन्।
प्राथमिक रोकथामका लागि एसियाका गरिब देशहरूले कम प्रदूषित आधुनिक ऊर्जाको प्रयोग गर्नुपर्ने र धूमपानको प्रयोग छोड्नुपर्ने पनि बताएका छन्। तर, कहिल्यै धूमपान नगर्नेहरू पनि घरायसी प्रदूषणका कारण फोक्सोको क्यान्सरको जोखिममा परेको अध्ययनले देखाएको छ। विशेषगरी महिला र बालबालिका घरायसी प्रदूषणको मारमा परेका छन्।
विकासोन्मुख मुलुकका नागरिकले वार्षिक अनिवार्य रूपमा फोक्सोको परीक्षण गर्न सुझाएका छन्। ४० वर्ष माथिकाले अनिवार्य परीक्षण आवश्यक छ। समयमा नै समस्याको पहिचान भएमा उपचार गर्न सजिलो हुने भनिएको छ। सन् २०१६ मा युनिभर्सिटी अफ मेरिल्यान्ड इन्स्टिच्युट फर एप्लाइड इन्भारमेन्ट, युनिभर्सिटी अफ युटा स्कुल अफ मेडसीन र विकि कोइराला मेमेरियल अस्पतालले संयुक्त रूपमा गरेको अध्ययनले पनि महिला बालबालिकामा घरायसी प्रदूषणको दीर्घकालीन समस्यामा परेको देखाएको छ। उक्त अध्ययनले दाउरा, कोइला, गोबर, बालीका अवशेष बालेर हुने प्रदूषणले फोक्सो क्यान्सरको समस्या निम्त्याएको देखाएको थियो। उक्त अध्ययनमा घरायशी प्रदूषणले वार्षिक चार मिलियन मानिसको मृत्यु भएको जनाएको थियो।
३० प्रतिशत प्रदूषण घरायसी प्रयोजनबाट
भर्खरै प्रकाशित विश्व बैंकको रिपोर्टले भन्छ– ‘दक्षिण एसियाका धेरै घरधुरीले ठोस इन्धनबाट भान्सा तयार गर्छन्।’ घरेलु प्रदूषणका कारक मानिएका यी स्रोतहरू पीएम २.५ प्रदूषणका कारक मानिन्छन्। जसले स्वास्थ्यमा असर परेको छ। किनभने ३० प्रतिशत प्रदूषण घरेलु प्रयोगबाट निस्किएका छन्। उक्त उत्सर्जनले मृत्युको मुखमा पुर्याएको छ।
- नेपालमा मृत्युदर विश्वमै उच्च
- प्रत्येक १ लाखमा १८२.५ जनाले गुमाउँछन् ज्यान
‘स्टार्भिङ फर क्लिन एयर’ नाम दिइएको उक्त अध्ययनले औसतमा हुने घरायसी प्रदूषणको जोखिमको मात्रा एकदमै बढ्ने संभावना छ। दक्षिण एसियन क्षेत्रमा भारतको (इन्डो गैंगेटिक प्लेन) बाहेक घरेलु प्रदूषणबाट पीएम २.५ को जोखिम दोब्बर हुने भनिएको छ। स्वास्थ्यको हिसाबले पीएम २.५ घातक मानिन्छ।
घरभित्रबाट हुने प्रदूषणका विषयमा विश्व स्वास्थ्य संगठनले २०१४ मा गरेको अध्ययनले नेपालमा कम्तीमा ७ हजार ५ सय बालबालिकाको यसकै कारण मृत्यु हुने गरेको देखाएको छ। बालबालिकाहरूमा निमोनिया तथा फोक्सोको क्यान्सर, मुटु तथा श्वास–प्रश्वाससम्बन्धी जोखिम बढेको छ। त्यसैले पनि विद्युतीय प्रणालीमा फड्को मानुपर्ने औंल्याएको छ। जसले प्रदूषणसँग सम्बन्धित बिरामी घटाउने मात्रै होइन वनविनासलाई समेत रोक्छ। उक्त रिपोर्टमा करिब ३.७५ मिलियन परिवार सुधारिएको बायोमासमा जान सक्ने र ८ लाख परिवारले घरेलु बायोमासको तत्काल प्रयोग गर्न सक्ने बताएको छ।















