३ वर्ष पछि चीनले नेपालसंगको सीमा खोल्यो, ८ कन्टेनरले पाए प्रवेश
|
Getting your Trinity Audio player ready...
|
रसुवा । कोरोनाका कारण करिब ३ वर्षदेखि बन्द रहेको नेपाल र चीनबीचको व्यापार मंगलवारदेखि पुनः सुचारु भएको छ ।
झण्डै ३५ महिनादेखि बन्द रहेको रसुवागढी नाकाबाट चीनले मंगलवारदेखि सामान आयात गर्न थालेको रसुवा भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत नारायण प्रसाद भण्डारीले जानकारी दिए ।
मंगलबार नेपालबाट ८ कन्टेनर सामान चीनतर्फ निकासी भएको छ । प्रमुख भन्सार अधिकृत भण्डारीका अनुसार मंगलबार करिब ५० लाख नेपाली रुपैयाँबराबरको सामान निर्यात भएको छ ।
‘कोरोनाका कारण रोकिएको निर्यात आजदेखि खुलेको छ । मंगलबार बाँसका मुढा, ह्यान्डिक्राफ्ट र तामाका सजावटका सामानलगायतका वस्तु चीनतर्फ निर्यात भएको छ,’ भण्डारीले बताए ।
कोरोना महामारीपछि रसुवागढी नाकाबाट सामान निर्यात र मानिसको आवतजावत भने २०७६ माघ १५ देखि नै बन्द थियो । अहिले नाकाबाट दिनहुँ १४ वटा चिनियाँ कन्टेनरमा सामान आयात भइरहेको छ ।
रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । यहाँबाट तयारी कपडा, स्याउ, जुत्ताचप्पल, झोला, मोटरको ब्याट्री, प्लास्टिकका सामानलगायत आयात हुने गरेको छ ।
नेपालबाट चीनतर्फ पस्मिना, गलैंचा, बाँसको मुढा, अम्रिसो, मैदा, वनस्पति घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सी क्यान्डी, चकलेट, सक्खर, चुइंगमलगायत वस्तु निर्यात हुँदै आएको थियो ।












