घट्यो नेपालको वैदेशिक व्यापार
काठमाडौं । आर्थिक वर्षको सुरुदेखि नै घट्न थालेको नेपालको वैदेशिक व्यापार झन् संकुचित हुँदै गएको छ ।
भन्सार विभागले हालै सार्वजनिक गरेको मङ्सिर सम्मको तथ्याङ्क अनुसार समीक्षा अवधिसम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार दुई खर्बभन्दा बढीले घटेको छ ।
विभागका अनुसार मङ्सिरसम्म नेपालले कुल सात खर्ब ३२ अर्ब रुपियाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । जब कि गत आर्थिक वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार नौ खर्ब ४१ अर्ब रुपियाँ नाघेको थियो ।
आयातमा भएको गिरावटले कुल अन्तर्राष्ट्रिय व्यापारको आकार नै घटाएको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार मङ्सिरसम्म नेपालले छ खर्ब ६४ अर्ब ७४ करोड रुपियाँको वस्तु आयात गरेको छ ।
गत वर्ष सोही अवधिसम्म नेपालले आठ खर्ब ३८ करोड रुपियाँको वस्तु आयात गरेको थियो । यस हिसाबले वस्तु आयात करिब एक खर्ब ७५ करोड रुपियाँले घटेको छ ।














