प्रयत्न सफल भएन तर पनि निराश छैनः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले देश हाँक्ने गाडीको ड्राइभिङ सिटमा बस्ने प्रयत्न आफूले गरेपनि सफल हुन नसकेको बताएका छन्।
बुधबार भएको कांग्रेस संसदीय दलको नेताको चुनावमा पराजित भएपछि एक भिडिओ सन्देशमार्फत थापाले परिणाम आफ्नो नियन्त्रणमा नभएको बताएका छन्।
‘ड्राइभिङ सिटमा बस्नका निम्ति मैले प्रयत्न पनि गरेँ। प्रयत्न मेरो नियन्त्रणमा थियो त्यो कर्म मैले गरेँ,’ उनले भनेका छन्, ‘परिणाम मेरो नियन्त्रणमा थिएन त्यो मौका मैले पाइनँ।’
संसदीय दलको निर्वाचनबाट विजयी हुनका लागि आफूलाई धेरै चिने नचिनेकाहरुबाट शुभेच्छा प्रकट भएको भन्दै थापाले सबैलाई धन्यवाद भनेका छन् । साथै, सांसदहरुको ठाउँमा आम मतदाताले मतदान गर्न पाएको भए त्यसको परिणाम बेग्लै आउने पनि आफूलाई थाहा भएको उनले बताएका छन्।
‘आज सांसदको ठाउँमा आम नेपाली मतदाताहरुले मतदान गर्न पाएको भए परिणाम बेग्लै आउँथ्यो भन्ने पनि मलाई थाहा छ,’ थापाले भनेका छन्, ‘सांसद साथीहरू, जसको विश्वास जित्न सकेको छैन, उहाँहरुलाई हृदयबाट नमन गर्दै यति कुरा राख्न चाहन्छु, मैले गरेको प्रयत्नबाट परिणाम प्राप्त गर्न नसकेपनि म निरन्तर तपाईंहरुसँगै सहकार्य गर्नेछु। र तपाईंहरुको मन बदल्ने प्रयास निरन्तर गर्नेछु।’















