पुनः कोरोना संक्रमण बढेसंगै राहुल गान्धीलाई भारत जोडो यात्रा रोक्न केन्द्र सरकारले आग्रह
नयाँ दिल्ली । भारतमा नयाँ भेरियन्टको कोरोना संक्रमण देखिएपछि र अन्य मुलुकमा बढ्दै गएको संक्रमणलाई मध्यनजर गर्दै केन्द्र सरकारले विपक्षी भारतीय कांग्रेस आइका नेता राहुल गान्धीलाई भारत जोडो यात्रा रोक्नको लागि आग्रह गरेको छ ।
सरकारले कोरोना महामारीको सम्भावित खतरालाई देखाउँदै राहुललाई पत्र लेखेर यात्रालाई विराम दिन आग्रह गरेको छ ।
केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मन्डवियाले लेखेको पत्रमा देशमा एक पटक फेरि कोरोनाको खतरा बढेकाले ‘हेल्थ इमर्जेन्सी’ को अवस्थाबाट देशलाई बचाउन यात्रा रोक्न भनिएको हो ।
यात्रामा ‘कोभिड प्रोटोकल’ लागू गर्न सम्भव नरहे यात्रा रोक्न मन्त्रीले बताएका छन् । तर भारत सरकारले भने हाल कोरोनासम्बन्धी कुनै पनि नियम लागू गरेको छैन ।
विपक्षी दल कंग्रेस नेता राहुलले यति बेला कन्याकुमारीदेखि कश्मीरसम्म ‘भारत जोडो यात्रा’ गरिरहेका छन् । यात्राले एक सय दिन पूरा गरेको छ । राजस्थानको यात्रा पूरा गरेर बुधबार हरियाणा प्रवेश गरेका राहुल यसै साता दिल्ली आइपुग्ने कार्यक्रम छ ।
कोरोनाका लागि सरकारले कुनै पनि नियम र प्रोटोकलको घोषणा नै नगरेका बेला राहुलको यात्रामाथि प्रतिबन्ध लगाउने विषयलाई कंग्रेसले अस्वीकार गरेको छ ।
कंग्रेस प्रवक्ता पवन खेडाले पत्रकार सम्मेलन गरेर भारत सरकारले राहुल गान्धी, कंग्रेस र भारत जोडो यात्रामाथि मात्रै प्रतिबन्ध लगाउन खोजेको आरोप लगाएका छन् ।
‘कहीँ कतै कुनै कोरोना प्रोटोकलको नियम छैन, विमानस्थल पुग्नुस्, प्लेनमा बस्नुस्, कतै मास्क लगाउन पनि भनिँदैन,’ उनले भनेका छन्, ‘यात्रामा प्राप्त जनसमर्थनले भाजपा (भारतीय जनता पार्टी) आत्तिएर यसलाई रोक्न खोजेको हो ।’
सरकारले सबैका लागि नियम बनाएको खण्डमा आफूहरू पनि मान्न तयार रहेको उनको भनाइ छ ।

चीनमा कोरोना महामारी बढ्दै गएपछि केन्द्र सरकारले सबै निकायलाई सावधानी अपनाउन भनेको छ ।
स्वास्थ्यमन्त्री मन्डवियाले बुधबार वरिष्ठ अधिकारी तथा विशेषज्ञहरूसँग चीनमा देखिएको नयाँ भेरिएन्ट बीएफ–७ को सम्भावित खतरा र रोकथामका विषयमा छलफल गरेका छन् ।
भारतमा अहिलेसम्म २७ प्रतिशतले मात्रै बुस्टर डोज लगाएकाले अनिवार्य रूपमा बुस्टर डोज लिन आग्रह गरिएको छ ।
चीन, जापान, अमेरिका, कोरिया, ब्राजिलमा कोरोना संक्रमण पुनः बढ्न थालेपछि भारत सरकारले सतर्कता अपनाउने तयारी थालेको हो ।















