रुपन्देहीमा सुरु भयो नेपाली-भारतीय सैनिकको संयुक्त अभ्यास
काठमाडौँ । नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैनिक अभ्यास सुरु भएको छ । रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी यामप्रसाद ढकालले एक विशेष कार्यक्रमका बीच संयुक्त अभ्यासको उद्घाटन गरेका हुन् ।
‘सूर्यकिरण’ नाम दिइएको उक्त अभ्यास पुस १४ गतेसम्म चल्ने छ । विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरी सञ्चालन भएको उक्त संयुक्त अभ्यासको यो १६ औं संस्करण हो ।
नेपाली सेनाबाट प्रमुख सेनानी विमल कुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी छन् ।
यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्यकिरणको पन्ध्रौं संस्करण मित्रराष्ट्र भारतको पिथौरागढमा सम्पन्न भएको थियो । वि.सं. २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी १५ पटक सञ्चालन भइसकेको छ ।

नेपालले सन् २०११ देखि भारतसँग नेपाल–भारत ‘सूर्यकिरण’ संयुक्त सैनिक अभ्यास गर्दै आएको छ । एक वर्षमा नेपाल र भारतमा एक–एक पटक अभ्यास हुँदै आएकोमा कोभिड–१९ संक्रमण सुरु भएपछि २ वर्ष भने रोकिएको थियो ।
अमेरिकी सेनाको विशेष फौजसँग माओवादी द्वन्द्वकालदेखि नै नेपाली सेनाले सहकार्य गरे पनि संयुक्त सैनिक अभ्यासका रूपमा सन् २०१५ देखि ‘ब्यालेन्स नेल’ र ‘टेक नेल’ लाई अघि बढाएको हो । उक्त अभ्यास पनि कोरोनाकै कारण रोकिएको छ ।














