‘अवतार २ बारे समीक्षकहरुको मिश्रित प्रतिक्रिया : कसैले गरे कार्टुनसँग तुलना, केहीले दिए फाइभ स्टार
काठमाडौं । हलिउड फिल्म ‘अवतार: द वे अफ वाटर’नेपालमा शुक्रवारदेखि प्रदर्शन हुँदैछ। नेपालका मल्टिप्लेक्सहरुमा उच्च शो पाएको यस फिल्मले विदेशमा भने समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको छ।
फिल्म ‘अवतार: द वे अफ वाटर’ सन् २००९ मा रिलिज भएको ‘अवतार’ को सिक्वेल हो। सो फिल्म अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने चलचित्र हो। जसकारण पनि संसारभरिका दर्शकका लागि ‘अवतार’ को यो संस्करण बहुप्रतिक्षित छ।
यस फिल्मलाई विश्वभरिका समीक्षकहरुले १ देखि ५ स्टारसम्मको रेटिङ दिएका छन्। कतिपयले यसलाई चकित पार्ने फिल्म छन् त कतिपयले झुर।
एम्पायरका निक डे सेम्लिनले अवतार २ लाई पाँच स्टार दिँदै मनोरञ्जनले भरिपुर्ण फिल्म रहेको लेखेका छन्। त्यसैगरि, भेराइटीका ओवेन ग्लेबरम्यानले पनि ‘अवतार २’ को कथा ठिकै भएता पनि शानदार सिक्वेल भनि लेखेका छन्।
‘अवतार: द वे अफ वाटरमा निर्देशक क्यामरुनले विशाल, लामो र शानदार संसारलाई चकित पार्ने शानदार सिक्वेल बनाएका छन्। क्यानरुनले हामीलाई पाण्डोरा ग्रहमा फिर्ता लैजान प्रविधिको अधिकतम उपयोग गरेका छन्,’ उनले लेखेका छन्।
त्यस्तै, टेलिग्राफको रोबी कोलिनले ‘अवतार २’ लाई एक स्टार दिँदै ‘ट्रक्वाइस सिमेन्ट’सँग वाटरबोर्ड गरिएको जस्तो फिल्म बताएका छन्।
‘क्यामरन र चार व्यक्तिको लेखन टोलीद्वारा पकाइएको कथा, फ्रेन्चाइजी-लम्बाइको क्लासिक टुक्रा हो, जसमा कुनै पनि अर्थपूर्ण वा महत्त्वपूर्ण परिवर्तनहरू हुँदैनन्। सबै टुक्राहरू तिनीहरूको मूल स्थितिमा फर्काइन्छ, अर्को किस्ताको लागि तयार छ,’ उनले लेखेका छन्।
हलिउड रिपोर्टरका समीक्षक डेभिड रुनीले यस मेघा सिक्वेलले एक्सन, इमोसन र थ्रिलिङ थ्रीडी भिजुअल प्रदान गर्ने उल्लेख गरेका छन्।
उनी लेख्छन्, ‘कथा परिष्कार र अझ धेरै संवादको सन्दर्भमा यो ३५० मिलियन डलरको सिक्वेल पूर्ववर्ती जस्तै सामान्य छ, कहिलेकाहीं कमजोर पनि। तर विस्तारित, जैविक विविधतापूर्ण विश्व-निर्माणले तपाईलाई भित्र तान्छ, दृश्यले तपाईलाई मन्त्रमुग्ध बनाउँछ। वातावरणीय जागरूकताको जोशप्रति उत्तेजित बनाउँछ र मल्टिप्लेक्स दर्शकले चाहेजस्तो भिजुअल र रोमाञ्चकता प्रदान गर्छ।’
द गार्डियनका पिटर ब्राडशाले फिल्मलाई ट्रिलियन-डलर स्क्रिनसेभरूसँग तुलना गरेका कारण खासै उत्साहित थिएनन्। उनले फिल्मलाई दुई स्टार दिँदै लेखेका छन् ‘फिल्मको कथा ३० मिनेटको कार्टुन हरेको जस्तो लाग्छ।’ उनले कथालाई कुनै एआई प्रोग्रामद्वारा बनाइएको लामो फिल्म भनेर समेत उल्लेख गरेका छन्।
द टाइम्सका केभिन महेरले यस फिल्ममलाई २ स्टार रेटिङ दिँदै दृश्यका रुपले शानदार तर अनावश्यक सिक्वेलको रुपमा व्याख्या गरे। उनले मुख्य पात्र सोलीलाई दोहोर्याएको महसुस गरेको बताउँदै भने, ‘यहाँ सबै कुरा रिट्रेड, रिसेट र रिगर्जेट छ।
त्यसैगरि, भारतीय अनलाइन पोर्टल बलिउड हंगामाले हलिउड फिल्म ‘अवतार २’ लाई ४.५ रेटिङ दिएको छ। ‘अवतार: द वे अफ वाटर’ आँखा र मन तान्ने दृश्यहरु, यसअघि कहिल्यै नदेखिएको फिल्मको आयाम, तालीको लागि योग्य क्लाइमेक्स र बलियो भावनात्मक अन्त प्रवाहमा आधारित छ।















