अनलाईन बेटिङ्- बाजी विरुद्द थप आक्रामक बन्दै राष्ट्र बैंक, खाता रोक्का सम्मको चेतावनी
काठमाडौँ । अनलाइन बैकिङ, मोबाइल बैकिङ, डिजिटल वालेटजस्ता विद्युतीय माध्यमबाट जुवा खेल्ने तथा बाजीजन्य काममा संलग्न भए राष्ट्र बैंकले कारबाही गर्ने भएको छ ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै सचेत गराएको हो । केही साता यता विश्वकपमा अनलाइनमार्फत बाजीजन्य गतिविधि भइरहेको सूचनाका आधारमा राष्ट्र बैंकले सचेत गराएको हो।
जुवा तथा बाजीजन्य गतिविधि गैरकानुनी भएकाले त्यस्ता कार्यमा संलग्न भएको पाइएमा सम्बन्धित पक्षलाई कारबाही हुनुका साथै निजहरुको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरु पनि रोक्का गरिने राष्ट्र बैंकले जनाएको छ ।
‘जुवा तथा बाजीजन्य (ग्याम्बलिङ एण्ड बेटिङ) कार्यहरु गैर कानुनी हुन् । यस्ता प्रकृतिका कारोबारहरुमा सहभागी नहुन सर्वसाधारणमा सूचित गरिन्छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजी लगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति/समूह/संस्थालाई कानुनी कारबाही हुने तथा निजहरुको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरु रोक्का गरिनेछ ।’
यस्तै, राष्ट्र बैंकबाट इजाजत/अनुमतिपत्र प्राप्त संस्थाहरुले जुवा तथा बाजीजन्य गैर कानुनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ, वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले सरोकारवाला निकायलाई आग्रह गरेको छ ।
कसैले विद्युतीय भुक्तानीका माध्यमबाट जुवा तथा बाजीजन्य कार्य गरेको जानकारी प्राप्त भएमा राष्ट्र बैंकमा सिधै फोन गरेर जानकारी दिन पनि आग्रह गरिएको छ ।














