विश्व कप फुटबल : क्रोएसियालाई ३-० ले हराउँदै अर्जेन्टिना फाइनलमा
काठमाडौं । कप्तान लियोनेल मेसीद्वारा प्रेरित अर्जेन्टिना साविकको उपविजेता क्रोएसियालाई ३–० गोल अन्तरले हराउदै फिफा विश्वकप फुटबलको फाइनलमा पुगेको छ।
दुई पटकको च्याम्पियन अर्जेन्टिना विश्व कपको फाइनलमा पुगेको यो छैटौ पटक हो । पछिल्लो पटक अर्जेन्टिना सन् २०१४ को फाइनलमा जर्मनी सँग हारेको थियो।
कतार दोहास्थित लुसेल रंगशालामा मंगलवार भएको सेमीफाइनलमा मेसीले एक तथा जुलियन अल्भारेजले दुई गोल गरे ।
मेसीले ३४ औं मिनेटमा प्राप्त पेनाल्टीको सदुपयोग गर्दै टिमलाई अग्रता दिएका थिए। वान भर्सेस वानको अवस्थामा जुलियन अल्भारेजलाई क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले लडाए पछि अर्जेन्टिनाले पेनाल्टी पाएका थियो । जुन मौकालाई मेसीले सदुपयोग गरे।
यो सँगै जारी विश्व कपमा मेसीको यो व्यक्तिगत पाँचौ गोल हो । जसमा तीन गोल पेनाल्टी मार्फत गरेका छन्। फ्रान्सका किलियन एमबाप्पेले पनि सर्वाधिक पाँच गोल नै गरेका छन्।
खेलमा एक शुन्यले अग्रता लिएको पाँच मिनेटमा अर्जेन्टिना अन्तर दोब्वर पार्न सफल भयो । यस पटक अल्भारेजले टिमका लागि दोस्रो तथा व्यक्तिगत पहिलो गोल गरे। उनको गोल उत्कृष्ठ थियो। दुई रक्षक र गोलरक्षकलाई विट गर्दै अल्भारेजले गोल गरेका थिए।
मंगलवार अल्भारेज त्यतिमा रोकिएनन्। ६९ औं मिनेटमा उनले अर्को गोल थपे। यस पटक मेसीले कठिन मोडबाट मिलाइदिएको पासको सदुपयोग गरे।
विश्क कप जित्नबाट बञ्चित रहदै आएका मेसीको टिमलाई साविकको विजेता फ्रान्स र मोरक्को बीचको खेलको विजेताको चुनौति पन्छाउनु पर्ने हुन्छ।
फ्रान्स र मोरक्को बीचको दोस्रो सेमीफाइनल बुधवार हुने छ।
तस्विर : फिफा डट कमबाट















