लमजुङका छंगाछुर भिरमा ‘महसिकार’ : पर्यटकको आकर्षण बन्दै हनिहन्टिङ
बेशीशहर । लमजुङको छंगाछुर ठाडो भिरपहरामा हुने महसिकार हेर्दा जति डरलाग्दो छ, सिकार गर्न पनि उत्तिकै जोखिमपूर्ण छ । तर, निडर महसिकारीहरू आफ्नो ज्यानको बाजी लगाउँदै भिरपहरामा महसिकार गर्न रमाउँछन् ।
विश्वप्रसिद्ध चक्रिय अन्नपूर्ण पदमार्गसँगै लमजुङका विभिन्न पर्यटकीय सम्पदाले बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरिरहेका छन् ।
परापूर्वकालदेखि ग्रामीण भेगमा बसोवास गरेका गुरुङ समुदायका मानिसहरूको आम्दानीको स्रोत बन्ने गरेको महसिकार पछिल्ला वर्षहरूमा भने पर्यटक लोभ्याउने आकर्षण बन्ने गरेको छ ।
आङै सिरिंग हुने अग्ला भिरपहरामा निडरका साथ महसिकारीहरूले मह काढेको दृश्य देख्दा रोमाञ्चक लाग्ने बेँसीसहरकी सुस्मिता थापाले बताइन् ।
उनले भनिन्, ‘भिरमाहुरीको सिकार गरेको पहिलोपटक देख्दा अविस्मरणीय र रोचक बन्यो ।’ ‘हनिहन्टिङ’ अर्थात् महसिकार आजभोलि पर्यटकका लागि नौलो र आकर्षणको विषय बन्दै गएको छ ।
महसिकार गर्ने प्रचलन धेरै पुरानो रहे पनि पर्यटक आकर्षणका लागि ‘हनिहन्टिङ फेस्टिबल’का रूपमा पहिलोपटक ०६३ सालमा लमजुङको ताघ्रिङस्थित काप्रेभिरमा गरिएको थियो । त्यसपछि धेरै गाउँहरूमा पर्यटक आकर्षणका रूपमा महसिकार हुने गरेको थियो ।
गाउँमा युवा जनशक्तिको अभाव हुन थालेपछि वृद्धहरूले नै महसिकार धान्दै आएका छन् । लमजुङको सिउरुङ, पसगाउँ, घनपोखरा, खुदी, ताघ्रिङ, भुलभुले, भुजुङ, नाइचे, दूधपोखरीलगायतका भिरपहरामा भिरमौरी प्रशस्त पाइन्छ ।
झन्डै १५ सयदेखि २५ सय मिटरको उचाइका पहरामा भिरमौरीले घार बनाउने गर्छ । ‘परापूर्वकालदेखि नै भिरपहरामा पाइने भिरमौरीको सिकार गर्न गाउँले हानाथाप गर्थे । तर, अहिले त्यस्ता महसिकारी भेट्टाउनै मुस्किल हुन्छ,’ स्यागेका पर्यटन व्यवसायी बलबहादुर गुरुङले बताए ।
महसिकारको सिजन सुरु भएसँगै जिल्लाका भिरपहरामा महसिकार सुरु भएको छ । लमजुङमा प्रत्येक वर्ष वैशाख, कात्तिक र मंसिरमा भिरमाहुरीको मह सिकार गर्ने गरिन्छ । गुरुङ समुदायको परम्परागत पेसा नै रहेको महसिकारको सीप हस्तान्तरण गर्दै मौरीको संरक्षण गर्नुपर्ने महसिकारी बुद्धिबहादुर गुरुङको बुझाइ छ ।
ज्यानको बाजी थापेर महसुर सिकारीले गर्ने महसिकार स्थानीयलाई आय–आर्जन र साहसिक पर्यटकका लागि गन्तव्यका रूपमा स्थापित हुँदै गएको घनपोखराका महसिकारी भक्तबहादुर गुरुङ बताउँछन् ।















