मानव मस्तिष्कमा चीप प्लान्ट गर्ने तयारीमा मस्क
अमेरिका / आगामी दिनमा दृष्टिविहीनले पनि चिपमार्फत् देख्न सक्नेछन्, पक्षघातका बिरामीले सोचेको भरमा मोबाइल र कम्प्युटर चलाउन सक्नेछन् । यो दाबी विश्वकै धनी व्यापारी तथा न्यूरालिङ्कका संस्थापक एलन मस्कको हो ।
उनले न्यूरालिङ्कको क्यालिफोर्नियाको मुख्यालयमा ‘शो एन्ड टेल’ कार्यक्रमको आयोजना गरे र आफ्नो उपकरणको प्रगतिबारे जानकारी दिए ।
मस्कले आफ्नो ब्रेन चिप इन्टरफेस स्टार्टअपले बनाएको वायरलेस डिभाइस ६ महिनामा मानव परीक्षणका लागि तयार हुने बताए । यसका लागि फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) मा कागजपत्र पेश गरिएको छ । कार्यक्रममा मस्कले बाँदरले जोइस्टिक प्रयोग नगरी पिनबल खेलेको भिडियो पनि देखाए । टेलिप्याथी मार्फत बाँदरले टाइप पनि गर्यो ।
न्यूरालिङ्क टोलीले आफ्नो सर्जिकल रोबोट पनि प्रदर्शन गरेको थियो । रोबोटले सम्पूर्ण शल्यक्रिया कसरी गर्छ भनेर देखाइएको पनि थियो । मस्कले ६ वर्षअघि ब्रेन कन्ट्रोल इन्टरफेस स्टार्टअपको स्थापना गरेका थिए र २ वर्षअघि आफ्नो इम्प्लान्टेसन रोबोट देखाएका थिए ।















