डा.शेखर कोइरालाको चेतावनी : ‘गठबन्धनमा एक सय सिट नपाए कांग्रेसमा विद्रोह हुन्छ’
पेन्सिलभेनिया,अमेरिका। नेपाली कांग्रेका नेता डाक्टर शेखर कोइरालाले आगामि निर्वाचनमा कांग्रेसले एक सय सिट नपाए पार्टी भित्र विद्रोह हुने चेतावनी दिएका छन्।
नेपाली जनसम्पर्क समिति विश्व सञ्जालद्वारा कांग्रेसका नेता तथा समाजवादी चिन्तक स्वर्गिय प्रदिप गिरिको श्रद्धाञ्जलीका लागि शनिवार आयोजित कार्यक्रमा कोइरालाले यस्तो चेतावानी दिएका हुन्।
‘एक सय ६५ सिटका लागि गठबन्धनमा छलफल चल्दै छ, यदी एक सय सिट भन्दा कम लियो भने कांग्रेस भित्र विद्रोह हुन्छ भन्ने मलाई आभाष भइरहेको छ।’ नेता कोइरालाले भने। ‘किनभने यो बीचमा मैले जिल्लाहरु घुम्दा, साथीहरु भेट्दा, मैले त्यो महशुस गरे उहाँहरु अत्यन्त चिन्तित हुनुहुन्छ। देशको अवस्था कसरी जान्छ भनेर अहिले हामीहरु कसैले पनि भन्न सक्ने अवस्था छैन।’
कांग्रेसको पछिल्लो महाधिवेशनमा सभापति पदमा पराजित कोइराला शुरु देखि नै गठबन्धनको विरुद्धमा रहदै आएका नेता हुन। केही दिन अगाडि मात्र कोइरालाले प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए।
‘अहिले देशमा जुन राजनीतिक अवस्था छ त्यो सुधार्न सक्छौ भन्ने छ। हामी पनि,कांग्रेस एक्लै लडौ भन्ने नै हो, नभए विचार मिल्ने सँग गठबन्धन गरेर जाँउ भनेको हो त्यो सम्भव भएन, गठबन्धन पनि बैचारिक हिसावले अर्को ध्रुबमा रहेको पार्टी माओवादी सँग गर्दै छौ। यसले तपाईहरुलाई अप्ठेरो लगेको मलाई पनि महशुश भएको छ।’ विश्वभर रहेका कांग्रेस समर्थक नेता तथा कार्यकर्ता बीच ‘जुम’ मार्फत आयोजित कार्यक्रममा नेता कोइरालाले भने।
उनले देश ध्रुविकरणमा जाने चिन्ता आफुलाई लागेको बताए । ‘नागरिकता विधेयकको कारण मलाई के लागि रहेको छ भने देश ध्रुविकरणमा गइरहेको छ, देश पहाड र मधेशको बीचमा ध्रुविकरण हुन्छ की भन्ने छ, त्यो पनि चुनावको मुखमा, दोस्रो कुरा सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयक पनि जघन्य अपराधमा पुनराअवलोकन पनि नपाउने गरि राखेको छ। पिडकलाई भन्दा पनि पिडा दिनेलाई सुविधा दिने गरि राखिएको छ। यसले देशमा झन दण्डहिनता बढेर जान्छकी भन्ने चिन्ता हामी सबैलाई छ।’
कोइरालाले मेलमिलाप आयोग विधेयक माओवादीलाई क्लिन चिट दिने गरि ल्याउन लागिएको आशंका व्यक्त गरे। उनले आयोगको बारेमा एमालेको धारणा पनि सुनिनु पर्नेमा जोड दिए।
कोइरालाले सुशासन दिन नसकिए, भ्रष्ट्रचार न्युनिकरण गर्न नसके देश श्रीलंकाको बाटोमा जाने चिन्ता व्यक्त समेत गरे। ‘साथीहरुले मलाई सधैं एउटा कुरा सोधिरनुहुन्छ, के देश श्रीलंका बन्छ भनेर भन्नु हुन्छ हामी सुशासन दिन सक्यौ, भ्रष्ट्राचार न्युनिकरण गर्न सक्यौ, पारदर्शी हुन सक्यौ जनताप्रति उत्तरदायी हुन सक्यौ भने पक्कै पनि नेपाल श्रीलंका बन्दैन।’
कोइरालाले सबै पार्टीमा सिद्धान्त ओझेलमा परेको र अवसरवादी हामी भएको दावी गरे। ‘राजनीति गर्ने हामीहरु सबैको केही सिद्धान्त र विचार हुन्छ, अहिले कता कता त्यो ओझेलमा परेको महशुस गररहेको छु।’ कोइरालाले भने ‘त्यो हुदा के हुदो रहेछ भने हामी व्यवहारवादी राजनीति गर्न पुग्दछौ । अहिले नेपाली कांग्रेस मात्र होइन सबै राजनीतिक दलमा अवसरवादी हावी भएका छन्।’
उनले प्रवासमा रहेका आफ्ना कार्यकर्तालाई सके स्वेदशमै आएर नभए विदेशबाट पनि अवसरवादीलाई हराउन सहयोग गर्न आग्रह गरे। कोइरालाले स्वर्गिय गिरि समाजवादलाई व्यवहारमा लागु गर्ने नेता भएको बताए।
‘प्रदिप दाईलाई राजनीतिज्ञ भन्दा पनि दार्शनिकको रुपमा चिन्दछु।’ कोइरालाले भने, ‘विपिले खोजेको समाजवाद र नेपालले खोजेको समाजवाद प्रदिप दाई आफैले व्यवहारमा पनि लागु गर्नु भयो भन्ने मलाई लाग्छ।’
नेता कोइरालाले पार्टीमा अहिले अवसरवादीहरुको हावी भएको दावी गरे। ‘विपिले यही कुरा गर्नु भएको हो जस्तो लाग्छ, सिद्धान्त र विचार ओझेलमा परिरहेको मैले महशुश गरेको छु।अवसरवादीहरु जो अहिले टिकटका लागि घुमिरहेका छन् तिनलाई पराजित गरेर जान सके प्रदिपदाईलाई श्रद्धाञ्जली हुन्छ।’
कार्यक्रममा कांग्रेसका सहमहामन्त्री जीवन परियारले निष्ठा र आदर्शको प्रतिमूर्ति तथा प्रजातान्त्रिक समाजवादको व्यख्यता गुमाएको बताए। उनले विदेशमा रहेका आफ्ना समर्थकलाई कांग्रेसलाई कसरी जिताउन सकिन्छ भनेर लाग्न आग्रह गरे। उनले स्वर्गिय गिरिको सम्झनामा पुस्तकालय स्थापना गर्न विश्व सञ्जाल सँग आग्रह गरे।
यस्तै काग्रेसका अर्का नेता अर्जुननरसिंह केसीले नेतृत्व के दिन्छ, त्यही लिने मात्र भएको बताए। उनले त्यो प्रकृयामा सुधार हुनु पर्नेमा जोड दिए। केसीले प्रश्न गरे, ‘सभापति भनेको मनपरी गर्ने हो’? केसीले गठबन्धनको बैशाकी टेक्न आवश्यकता नरहेको पनि दाबी गरे।
नेपाल विद्यार्थी संघका पूर्व सभापति तथा कांग्रेस नेता गुरुराज घिमिरेले कांग्रेसले ३० वर्षे समयको सदुपयोग गर्न नसक्दा नेपालमा कम्युनिष्टहरु विस्तार हुदै गएको र त्यसले लोकतन्त्र खतरामा परेको दावी गरे।
कार्यक्रममा कांग्रेस नेता देवराज चालिसे, गैरआवासिय नेपाली संघ एनआरएनएका सचिव प्रमोद सिटौला, एनआरएनए (विनोद कुँवर समुह) उपाध्यक्ष वीआर लामा, सञ्जालका संरक्षक हरि पौडेल,धर्मराज अधिकारी, पियुस दाहल, विश्व सञ्जाल अमेरिकाज क्षेत्रका सभापति टक बहादुर रूवाली, यूरोप संयोजक शेखर कंडेलले मन्तव्य राखेका थिए।
कार्यक्रमको अध्यक्षता गरेका विश्व सञ्जालका सभापति बिष्णु सुवेदीले नेपाली कांग्रेसका नेताहरुको अध्ययन गर्नका लागि खोलिने पुस्तकालयका लागि आवश्यक सबै प्रकारको सहयोग गर्न आफुहरु तयार रहेको बताए।
कार्यक्रममा संजालका उप सभापति नवराज सिवाकोटीले स्वागत भाषण गरेका थिए। यस्तै महामन्त्री भुपि गोविन्द श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए।
(कार्यक्रमको पुरा भिडियोका यहाँ हेर्नु होला)