राप्रपा भित्रको असन्तुष्टि सम्बोधन गर्न विद्यार्थीको माग

Getting your Trinity Audio player ready...
|
काठमाडौं । पार्टी भित्र देखिएको असन्तुष्टिलाई समयमै सम्बोधान गर्न माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले नेतृत्वलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
महाधिवेशन पछि राष्ट्रिय प्रजातान्त्रिक पार्टीमा चुलिएको असन्तुष्टिलाई लिएर अध्यक्ष राजेन्द्र लिङ्देनलाइ ध्यानाकर्षण पत्र बुझाइएको हो ।
राप्रविसंका कार्यबहाक अध्यक्ष शशि भण्डारीको नेतृत्वमा महासचिव जनक फडेरा लगायत अधिकांस सदस्यले हस्ताक्षर गरि बिहिवार ज्ञापनपत्र बुझाएका हुन् ।
राप्रविसंले बुझाएको ज्ञापनपत्रमा गत महाधिवेशनमा निर्मलनिवासले गरेको हस्तक्षेपका विषयमा छानविन गर्न माग गरिएको छ । यस्तै निवर्तमान अध्यक्ष कमल थापाले यस अघि बुझाएको पत्रका सम्बन्धमा तत्काल केन्द्रीय समितिको बैठक बोलाई छानविन समिति गठन गरिनुपर्ने माग गरिएको छ ।
राप्रपाको वर्तमान नेतृत्व पार्टीमा पूर्वअध्यक्षहरु लगायत महत्वपूर्ण व्यक्तिहरुसँग छलफल गरेर मात्रै अगाडि बढ्नु पर्ने लगायतका तीन बुँदे माग समेटिएको जानकारी राप्रविसं केन्द्रीय सदस्य त्रिविक्रम सिंहले बताए ।
सिंहले भने “यो पार्टी एकता अक्षुण राख्न र असन्तुष्टि विवाद समधानका लागि दबाव पुगोस् भन्ने उदेश्यले ध्यानाकर्षण पत्र बुझाएका हौं ” उनले दबाबका लागि निरन्तर कार्यक्रम गर्दै जाने बताए।
ज्ञापनपत्र बुझ्दै राप्रपा अध्यक्ष लिङ्देनले भने विद्यार्थीहरुको मागका सम्बन्धमा उचित समयमा उचित निर्णय लिईने बताए ।
राप्रपा पूर्वअध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री कमल थापाले पनि निर्मलनिवासको हस्तक्षेपमाथि छानविन गर्न यस अघि दुई पटक राप्रपा अध्यक्ष लिङ्देनलाई पत्र पठाईसकेका छन्।