१६ औँ आइओएफटिसी अस्ट्रेलियामा सुरु
मेलबर्न, अस्ट्रेलिया / १६ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) शनिबार अस्ट्रेलियाको मेलबर्नमा सुरु भएको छ ।
मेलबर्नस्थित सनसाइन वेस्टमा भएको दुई दिने प्रतियोगिता अन्तर्गत पहिलो दिन पुम्से (फर्म) र बोर्ड ब्रेकिङ विधाका सबै प्रतिस्पर्धा सम्पन्न भए । विश्व तेक्वान्दोको नियमअनुसार भइरहेको आइओएफटिसीको यस प्रतियोगिताअन्तर्गत अन्तिम दिन आइतबार क्यारुगी (फाइट) का प्रतिस्पर्धा हुनेछन् ।
प्रतियोगिताको पहिलो दिन पुम्से सेमिनारको पनि आयोजना गरिएको थियो । अमेरिकाका पुम्से प्रशिक्षक मास्टर अन्जिलिटो ओङ र अमेरिकाकै स्पाइरिङ प्रशिक्षक अमोल गोर्खालीले सेमिनार सञ्चालन गरे । सो सेमिनारमा प्रतियोगिताको जानकारीका साथै तेक्वान्दो नियमहरुबारे अद्यावधिक गराइएको थियो ।
चालू प्रतियोगितामा सिनियर पुरुष र महिलाको समान आठ, आठ तौल समूहमा खेल भइरहेका छन् । यसैगरी, जुनियरतर्फ महिला र पुरुष गरी दस–दस तौल समूह र क्याडेट वर्गमा दस–दस तौल समूह रहेका छन् ।
सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा पनि प्रतिस्पर्धा भइरहेकोछ । प्रतियोगतामा करीब दुई सय जना खेलाडीको सहभागिता रहेको छ ।

प्रतियोगताको कूल पुरस्कार राशि चार हजार २५० अस्ट्रेलियन डलर रहेको छ । टिम च्याम्पियनलाई ट्रफीसहित एक हजार डलर प्रदान गरिनेछ । उपवजेताले ७५० डलर र तेस्रो हुने टिमले पाँच सय डलर पुरस्कार पाउनेछ । यसैगरी विधागतमा पुम्से र क्यारोगीतर्फ सर्वश्रेष्ठ पुरुष र महिला खेलाडीलाई जनही दुई सय डलर प्रदान गरिनेछ । यसैगरी उत्कृष्ट पुरुष तथा महिला रेफ्री तथा उत्कृष्ट पुरुष र महिला प्रशिक्षकले पनि जनही दुई सय अस्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्नेछ ।
आइओएफटिसी अस्ट्रेलियाको आयोजनामा भइरहेको प्रतियोगितामा आयोजक, अस्ट्रेलिया, नेपाल, भारत, अमेरिका, संयुक्त अरब इमिरेटेस गरी पाँच राष्ट्रले सहभागिता जनाएका छन् ।
अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपको आयोजना गर्दै आएको छ ।
आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । जसअनुसार आइओएफटिसीको आप्mनो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा पाँच संस्करण, भारत, बेलायत र हङकङ, अमेरिकाकै मिचिगन र दक्षिण कोरियाको सोलमा एक–एक संस्करणको आयोजना भइसकेको छ ।

आइओएफटिसी सिल्भर जुबली स्मारिका विमोचन
यसअघि, प्रतियोगताको उद्घाटन समारोहमा आइओएफटिसी सिल्भर जुबली स्मारिकाको विमोचन गरिएको थियो । आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक ग्रान्डमास्टर दिवाकर ‘डान’ महर्जन, १६ औं आइओएफटिसी आयोजक कमिटी संयोजक तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया अन्तर्गत भिक्टोरिया संयोजक मास्टर महादेव धानुक, आइओएफटिसी नेपालका महासचिव मास्टर गिरिबहादुर सुनार, आइओएफटिसी भारतका महासचिव मास्टर शिवराज घर्ती, रेफ्री संयोजक अस्ट्रेलियाली मास्टर डेन्जिल रोय तथा प्रमुख प्रायोजक काठमाडौँ फिनान्सका राज खनियाले संयुक्तरुपमा सो स्मारिकाको विमोचन गरे ।
आइओएफटिसीले गत वर्ष २५ वर्षको यात्रा तय गरेको हो । सन् २००० मा पहिलो पटक इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दोको आयोजना नेपालमा भएको थियो ।



















