आइसीसी टी २० विश्व कप: नेपालले इस्कटल्याण्डलाई ७ विकेले हरायो, विश्व कपमा १२ वर्ष पछि जित
मुम्बई, भारत / नेपालले आइसीसी टी २० विश्व कप २०२६ मा समूहको आफ्नो अन्तिम खेलमा इस्कटल्याण्डलाई सात विकेटले हराएको छ। विश्व कपमा नेपालले १२ वर्ष पछि जित निकालेको हो । यस अगाडि सन् २०१४ को विश्व कपमा नेपालले अफगानिस्तानलाई हराएको थियो ।
मुम्बईको वानखेडे स्टेडियममा मंगलवार समूहको पहिलो खेलमा इग्ल्याण्डलाई दमदार चुनौती दिँदै चार रनको पराजय बेहोरेको नेपाल दोस्रो खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको इटली सँग दश विकेटको भारी अन्तरले पराजित भएको थियो।
तेस्रो खेलको नजिता पनि ९ विकेटले वेष्ट इन्डिजलाई सुम्पिएको नेपाल आज प्रतिष्ठाको लडाईमा थियो। जस अन्तर्गत स्कटल्याण्डले दिएको एक सय ७१ रनको लक्ष्य नेपालले चार बल अगाडि तीन विकेट खर्चेर पुरा गर्यो।
नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले नट आउट ५० रन जोडे भने गुल्सन झाले नट आउट २४ रन जोडे। दीपेन्द्रले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे भने गुल्सन ले १७ बलमा १ चौका र २ छक्का प्रहार गरे।
यससँगै दीपेन्द्र नेपालका लागि विश्वकपमा दुई अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी र लगातार अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्। यसअघि उनले वेस्ट इन्डिजविरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए।
नेपालले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेको थियो। यो साझेदारी नेपालको विश्वकपमा पहिलो विकेटका लागि उच्च साझेदारी हो।
ओपनर कुशल भुर्तेलले दशौं ओभरको पहिलो बलमा आउट हुनुअघि ४३ रनको योगदान दिए । उनले ३५ बलमा १ चौका र ४ छक्का प्रहार गरेका थिए।
अर्का ओपनर आसिफ शेखले ३३ रन जोडे। उनले २७ बलमा २ छक्का प्रहार गरेका थिए। यस्तै कप्तान रोहित कुमार पौडेलले १६ रन जोडे।
नेपालको तीन वटै विकेट स्कटल्यान्डका स्पिनर माइकल लिस्कले लिएका थिए ।
त्यसपछि दीपेन्द्र गुल्सन झाले नेपालको इनिङ्स सम्हाल्दै १२ वर्ष पछि जित दिलाए। दीपेन्द्रले १८ औँ ओभरको अन्तिम दुई बलमा छक्का र चौका प्रहार गर्दा नेपाललाई राहत मिलेको थियो। त्यस साथै दीपेन्द्र स्वयमले पनि अर्धसत्तक पुरा गरे।
अन्तिम ओभरमा नेपाललाई जितका लागि पाँच रन चाहिदा गुल्सनले दोस्रो बलमा चौका प्रहार गरे।
यस अघि टस हारेर व्याटिङ्गमा आएको स्कटल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा एक सय ७० रन बनायो।
स्कटल्यान्डका लागि ओपनिङ ब्याटर माइकल जोन्सले अर्धशतक प्रहार गर्न सफल भए।
स्कटल्यान्डले पहिलो विकेटका लागि ८० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गर्यो। पहिलो विकेटको साझेदारी नेपालका कप्तान रोहितकुमार पौडेलले तोडे। रोहितले दशौं ओभरको अन्तिम बलमा स्कटल्यान्डका ओपनर जर्ज मुन्सेलाई २७ रनमा आउट गरे। रिभर्स स्विप गरेका मन्सेलाई रोहितले लङ अनमा सन्दीप जोराबाट क्याच गराए। उनले २९ बलमा चार चौका प्रहार गरे।
तेस्रो पटक विश्व कप खेलेका सोमपाल कामीले तीन विकेट लिए ।
सोमपालले स्कटल्यान्डका ओपनर माइकल जोन्स आक्रामक ब्याटिङलाई ब्रके गरेका थिए। १६ औ ओभरमा पेभिलियन फर्कनु अगाडी जोन्सले ७१ रन जोडेका थिए। सोही ओभरमा सोमपालले म्याकमुलेनलाई आउट गरे । यस्तै नन्दन यादवले दुई र कुशल भुर्तेलले पनि एक एक विकेट लिए।

















